Logo

छाउगोठ भत्काउने अभियानमा सफलता



काठमाडौँ, १७ माघ । सरकारले छाउगोठ भत्काउने अभियान थालेसँगै यतिबेला देशकै ध्यान सुदूरपश्चिमले तानेको छ । यतिबेला धमाधम छाउगोठहरू भत्काइँदैछ ।

जनप्रतिनिधिको अगुवाइमा स्थानीय प्रशासनसहितको समन्वयमा छाउगोठ भत्काउने अभियान निरन्तर चलिरहेको छ ।
अछाम सदरमुकाम मङ्गलसेनको आडैमा विरालतोली गाउँ छ । टमटा, ढोली, साउदलगायतको बसोबास रहेको यो गाउँका छाउगोठहरू गएको साता नै भत्काइसकिएको छ । वडाध्यक्ष पदमबहादुर भाटसहित विरालतोलीका धामी तुला ढोलीको घर पुग्दा उनी आँगनमा घाम ताप्दै थिए । आँगनछेउमै भर्खरै भत्काइएको छाउगोठको भग्नावशेष देख्न सकिन्थ्यो ।

भत्काइएको छाउगोठबारे प्रतिक्रिया लिन खोज्दा उनी एकाएक काम्न थाले । काम्दै आफूले छाउगोठको ढुङ्गा छोएका कारण देवता चढेको कुरा फला थिए । तुरुन्तै उनका परिवारले केही अक्षता ल्याइदिए । ‘‘हामी हजुरलाई अपमान गर्दैनौँ । हामी महिलाहरूको स्वास्थ्य र ज्यानको सुरक्षा मात्र गर्न चाहन्छौँ,’’ भनी वडाध्यक्ष भाटले आश्वस्त पारेपछि मन्त्र फलाक्दै वडाध्यक्षलाई सिन्दुरको टीका लगाइदिएका थिए । अनि बल्ल ८० वर्षीय ढोली शान्त भए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्