Logo

ओली लडाउँदै र मिलाउँदै शक्ति सञ्चयमा



राजनीतिक टिप्पणी, २४ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली रणनीतिक रुपमा चतुर छन् । पार्टीभित्रको आन्तरिक व्यवस्थापनमा उनले निकै चार्तुयता देखाउँदै आएका छन् । ओलीले यसरी नै रणनीतिक चार्तुयता देखाएर पार्टीभित्र शक्ति सञ्चय गर्दै आए । तत्कालिन नेकपा एमालेको अध्यक्ष बन्दा उनले वामदेव गौतमलाई फकाएर आफ्नो साथ ल्याए । झलनाथ खनाललाई समेत निकट बनाएर माधवकुमार नेपाललाई अध्यक्षमा पराजित गरे ।

ओलीले अहिले फेरि पार्टीभित्र प्रचण्ड र माधवकुमार नेपाललाई लडाउने रणनीति अपनाएका छन् । एक समय उनले नेपाललाई खुबै पेले । बालुवाटारमा झाँको झारे । सिंगापुरमा मृगौलाको उपचार गर्न जानुअघि बसेको सचिवालय बैठकमा माधव नेपाललाई गम्भीर आरोप लगाए । तर, पछिल्लो समय पार्टीभित्र प्रचण्ड बलियो बन्दै गएपनि उनले नेपाललाई नजिक ल्याउने रणनीति चालिसकेका छन् । सोमबार माधव नेपाललाई लञ्चसहित बोलाएर चार घन्टा भलाकुसारी गरे । वामदेव गौतमको निवास भैंसेपार्टीमा ओली पक्षरहित बैठक बसेपछि ओलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई बोलाएर एक्ला एक्लै अन्र्तरंग कुराकानी गरिसकेका छन् । लञ्चसहितको सो कुराकानी पनि चार घन्टा चलेको थियो ।

पूर्व माओवादी पक्षधरहरु बलियो हुन थालेपछि ओलीले पूर्व एमालेलाई निकट ल्याउने चाल चलिरहेका छन् । उनले वामदेव गौतमलाई उपाध्यक्ष बनाएर आफू नजिक ल्याइसकेका छन् । गौतमले भनेका केही व्यक्तिलाई मन्त्री समेत बनाए । ओलीले यसरी नै पुनः शक्ति सञ्चय गरेर पार्टी र सरकारमा पकड बलियो बनाउँदै लगेका छन् । यो सबै उनको अबको तीन वर्ष प्रधानमन्त्री पदमा कायमै रहने र पार्टीमा पकड कायमै राखेर आगामी महाधिवेशनमा अध्यक्ष पद हात पार्ने रणनीति अन्र्तगत देखिदैछ ।
२०७७ सालमा तय भएको नेकपा महाधिवेशनले दुई अध्यक्षात्मक अवस्थाको अन्त गर्नेछ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेकामा अबको महाधिवेशनमा उनीहरु बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । यसैलाई दृष्टिगत गरी ओलीले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई फकाउने शैली अपनाइरहेका छन् । यो यतिबेला भइरहेको छ जतिबेला नेकपा एमाले र माओवादी बीचको एकतापछि बनेको नेकपाको पहिलो महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रभावशाली नेताहरुले आ आफ्नो अस्त्र फाल्न थालिसकेका छन् । वर्तमान अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली अध्यक्ष बन्न चाहन्छन् ।

उनले आफ्नो टिमसँग पूर्व तयारीका लागि छलफल चलाइसकेका छन् । अबको तीन वर्ष प्रधानमन्त्री बन्छु भनिसकेका ओलीले पछिल्लो समय डिनर रणनीति चालिरहेका छन् । बालुवाटारमा नेकपाका नेताहरुलाई बोलाएर सांगितिक साँझसहितको डिनर गर्न थालेका छन् । लञ्च र डिनरको दौडधुप बालुवाटारमा चलिरहेको छ । मंगलबार उनले वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालसहित प्रभावशाली नेताहरुलाई बोलाएर सांगितिक साझसहितको डिनर गरेका थिए । ओलीले बाँसुरी बजाउँदा खनाल र नेपालले सारंगी रेटेका थिए ।

ओलीले यसरी नै सम्पूर्ण राजनीतिक अस्त्र प्रयोग गरिरहेका छन् । मृगौला प्रत्यारोपण गरेर तन्दरुस्त भएर तीन वर्ष सरकार चलाउने भनिसकेका छन् । ओली भित्तामा पुग्नेगरी पेल्ने र पछि फेरि फकाउने चाल चल्न माहिर छन् । अहिले नेकपामा प्रचण्ड शक्तिशाली बन्दै जाँदा ओलीको डिनर रणनीति चलिरहेको छ । उनले विगतमा माधवकुमार नेपाललाई पेलेका थिए । खनाललाई बेवास्ता गरे । फेरि खनाललाई साथ दिएर नेपाललाई पेले । प्रचण्डसँग मिलेर अगाडि बढ्दा माधव नेपाललाई निकै पेले । ओलीले प्रचण्ड र माधव नेपाललाई लडाएर शक्ति बढाउन खोजेको देखिन्छ । नेकपाका भावी अध्यक्षका आकांक्षीमध्येमा ओली, प्रचण्ड र नेपाल सर्वाधिक शक्तिशाली आकांक्षी हुन् । त्यसैले त्रीकोणात्मक प्रतिष्पर्धामा ओलीले प्रचण्ड र माधव नेपाललाई लडाएर बाजी मार्न खोजिरहेका छन् । प्रचण्ड र माधव नेपाल नजिकिएपछि ओलीले नेपाललाई फकाउन थालिसकेका छन् । उनले यसरी नै प्रचण्ड र माधव नेपाललाई लडाएर आफू शक्तिशाली बन्दै पुनः अध्यक्ष बन्ने रणनीति बनाइरहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot