स्याङ्जा २७ माघ । लाटोकोसेरो तथा हुचिल चोरी निकासी भइँरहदा पुतलीबजार नगरपालिका –२ र बिरुवा –३ को सिमाना राङभाङ भैसेगौडीमा नवौं नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७६ भएको छ । प्रकृतिका साथीहरुले राङभाङ क्लब र मिलेनियम ट्रेक व्यवस्थापन समितिको सहयोगमा भैसेगौडामा शुक्रबारदेखि शनिबारसम्म दुई दिन उक्त उत्सव आयोजना गरिएको हो । देशभर २३ जातका लाटोकोसेरो तथा हुचिल रहेकोमा यहाँको भैसेगौडामा मात्र पाँच जातका भेटिएपछि उत्सवको आयोजना गरिएको बताइएको छ ।
धादिङमा सन् २०१३ मा पहिलो उत्सव गरिएकोमा चितवन , नवलपरासी , गोरखा, कास्की , कपिलवस्तु , दोलखा र खोटाङ हुदै स्याङ्जामा नवौं उत्सव गरिएको हो । संरक्षणको हिसाबले ओझेलमा परेका लाटोकोसेरो तथा हुचिलको संरक्षण तथा स्थानिय लोपोन्मुख खेल तथा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिए । लाटोकोसेरो तथा हुचिलको संरक्षणको लागी उत्सव अगावै विरुवा र पुतली बजार का ४५ वटा विद्यालयका तीन हजार विद्यार्थीमा चेतना शिविर सञ्चालन गरिएको थियो । (गोरखापत्रबाट)