Logo

अब बिजुलीको तार झोल्लिएको देखिनेछैन, अन्डरग्राउन्डको उद्घाटन



काठमाडौं, ५ फागुन । अब बिजुलीको तार अन्डरग्राउन्ड हुनेछ । यसको शुरुवात आजैबाट भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिजुलीको तार अगन्डरग्राउन्ड गर्न शुभारम्भ गरेका हुन् । उनले अब शहर सुन्दर देखिने बताए । ओलीले भने, अब सहर चिटिक्क हुन्छ ।

देशभर विजुलीको तार अन्डरग्राउन्ड गर्ने अभियानसँगै जोखिम र कुरुपता हट्ने आशा गरिएको छ । जथाभावी तार झोल्लिंदा खतरा बढ्नुका साथै सहर कुरुप देखिने गरेको थियो ।

सर्वप्रथम काठमाडौं विद्युत वितरण प्रणालीको तारलाई भूमिगत बनाइने विद्युत प्राधिकरणले जनाएको छ । काठमाडौंको रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा पहिलो चरणमा काम शुरु भएको छ । बालुवाटार, पानीपोखरी, बूढानीलकण्ड, टोखा, गोङ्‌गबु, समाखुसी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिनेछ। २ सय ५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइनेछ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्युरोड,अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे। त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चावहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा तार भूमिगत गरिनेछ। ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशस् करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिनेछ। साथै, त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइनेछ। यसका लागि ठेक्का सम्झौता भइसकेको । भारतीय कम्पनि केईआई इन्ड्रस्ट्रिजज लिमिटेडले २०२१ को अक्टोबरभित्र काम सक्ने लक्ष्य लिएको छ ।

प्राधिरकणले क्रमैसँग देशभर तारलाई भूमिगत बनाउने लक्ष्य लिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot