फागुन १०, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन प्रकरणका बारेमा अनुसन्धान गर्न सहयोग गर्ने जनाएको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाको कमिसन प्रकरणका बारेमा छलफल भएको र यससम्बन्धी अख्तियार लगाएतले छलफल गरेको बारेमा चर्चा भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले यस बिषयमा छानविनका लागी पार्टीले सहयोग गर्ने बताए । बैठकमा अमेरिकी परियोजना एमसिसीका बारेमा छलफल भएको उनले बताए ।
एमसीसीका बारेमा अध्ययन गर्न गठित कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनमा रहेका बिषयहरु राख्नुभएको थापाले बताए । उनले आगामी बैठकमा प्रतिवेदनमाथि विस्तृत छलफल हुने जानकारी दिए ।
एमसिसीबारेको विवाद निरूपणका लागि नेकपा केन्द्रीय कमिटी बैठकले खनाल, स्थायी कमिटी सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल बनाएको थियो । अध्ययन कार्यदलले २० दिनपछि शुक्रबार प्रतिवेदन बुझाएको थियो । एमसिसी संशोधनबिना पास गर्न नहुने सुझावसहित कार्यदललले प्रतिवेदन दिएको छ ।