Logo

एमसीसीको टुङ्गो अर्को बैठकबाट



काठमाडौँ, ११ फागुन । मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकमा एमसीसीबारे अध्ययन गर्न गठन भएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो ।

माघ १५ देखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटीको बैठकले पार्टीका वरिष्ठ नेता एवं सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलले प्रतिवेदन तयार गरी पार्टीलाई बुझाएको हो । सोही प्रतिवेदनमाथि छलफल गर्न सचिवालयको बैठक बसेको थियो । बैठकमा कार्यदलका संयोजक खनालले एमसीसीको विषयमा अध्ययन गरेको प्रतिवेदनबारे ‘ब्रिफिङ’ गरिएको थियो । बैठकमा एमसीसीबारे गम्भीर छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको सचिवालय सदस्य वामदेव गौतमले बताएका छन् । कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख विषयवस्तुमाथि हरेक कोणबाट छलफल भयो तर कुनै निष्कर्ष निस्केको छैन, अर्को बैठकबाट यसबारे ठोस निष्कर्ष निकालिने बताएका छन् ।

नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले सचिवालय सदस्य खनाल नेतृत्वको कार्यदलले पेस गरेको प्रतिवेदनमाथि हरेक कोणबाट छलफल भयो, आगामी बैठकबाट त्यसको टुङ्गो लगाउने सहमति भएको बताएका छन् । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि लागेको आरोप विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य निकायले अध्ययन गरिरहेको हुनाले यसबारे पार्टीले बोल्नु नपर्ने पनि सहमति भएको उनले बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्