काठमाडौं, १६ फागुन । हेमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेलमाथि कारबाही हुने भएको छ । पूर्व जर्नेल हेम खत्रीसँग पुरानो सम्बन्ध दाबी गर्ने माला शाहको पक्षमा भैंसेपाटीमा धर्ना दिन पुगेका महिलाहरुमाथि बल प्रयोग गर्ने क्रममा पौडेलले लाठी प्रहार गरेका थिए ।
पौडेलले हेमामाथि पटक पटक लाठी प्रहार गरेको भिडियो सार्वजनिक भएको छ । त्यसपछि उनीमाथि छानविन गर्न महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहलाई जिम्मा दिइएको छ । विश्वस्त स्रोतका अनुसार छानविनका क्रममा पौडेलले कानुन विपरित महिलामाथि बल प्रयोग गरेकाले कारबाही हुने भएको छ ।
पौडेललाई कस्तो कारबाही हुने खुलाइसकिएको छैन । तर, उनले अनावश्यक र अनाधिकृत रुपमा महिलामाथि लाठी प्रहार गरेको स्पष्ट भइसकेको छ । भोजपुरकी हेमा श्रेष्ठ पछिल्लो समय निकै चर्चित छन् । उनी पतिसँगको सम्बन्ध बिग्रिएपछि उग्र भएकी छिन् । त्यस्तै अभिव्यक्ति दिदै अन्तवार्ता दिन्छिन् ।
बिहिबार हेमाले पूर्व जर्नेल हेम खत्रीसँग माला शाहको सम्बन्ध दाबी गर्दै अधिकार दिलाउने भन्दै घरमै पुगेका महिलाहरुको साथ दिइन् । उनी बच्चासहित पुगेकी थिइन् । घरमै धर्नामा पुगेपछि हेमा श्रेष्ठमाथि प्रहरीका इन्स्पेक्टरले नै लाठी प्रहार गरेको भिडियो भाइरल भएको छ ।
पौडेल स्वयंले हेमामाथि लाठी प्रहार गरेका थिए । त्यतिबेला हेमा बच्चा बोकेकी थिइन् । उनलाई आठ पटक खुट्टामा लाठी प्रहार गरेको भिडियो भाइरल भएको छ ।