सचिना बाँनियाँ, १७ फागुन । उस्तै पोशाक अनि नांगो खुट्टा । हातमा ब्यानर र प्लेकार्ड । केटाकेटी, युवायुवती देखि वृद्धवृद्धासम्म । यी हुन् राजधानीको मुटुमा विवादास्पद धर्मगुरु रामबहादुर बमजनका समर्थकहरु हजारौंको संख्यामा उतारेका मानिस ।
उनीहरु न कुनै नारा गर्दै थिए न कुनै आवाज निकाल्दै थिए । मौन जुलुस निकालेका उनीहरुको हातमा रहेको प्लेकार्डमा विश्व शान्तिका वाक्यहरु थिए । कतिपय प्लेकार्ड र ब्यानरमा बमजनको तस्बिर थियो ।
यौन हिंसा र हत्याको अभियोग लागेका बमजनमाथि आश्रममाथि अनुयायीहरु वेपत्ता पारेको र यौन हिंसा गरेको अभियोग छ । पीडित परिवारले उनीविरुद्ध किटानी जाहेरी समेत दिएको लामो समयपछि उनीमाथि कारबाही प्रक्रिया बढाइएको छ ।
बमजन १५ वर्ष अघि चर्चामा आएका थिए । त्यतिबेला उनी १६ वर्षका थिए । विश्वभरका मिडियाले उनलाई लिटिल बुद्ध भनी लेखेका थिए । उनी ध्यानमा बसेको तस्बिर सँसारभर भाइरल भएको थियो ।
–तस्बिरः रिपोर्टर्स नेपाल