सुनसरी, २० फागुन । गेरु वस्त्रमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अदालत पुगेका थिए । उनको हातमा सीताराम लेखेको झण्डा थियो । उनले अदालती प्रक्रिया पूरा गरे ।
बलात्कारको अभियोग लागेका गिरी आज कारागार चलान भए । उनी आज उच्च अदालत विराटनगरमा हाजिर भएपछि र्पुपक्षका लागि थुनामा राख्ने आदेश कार्यान्वयनका क्रममा कारागार चलान भएका हुन् ।
अदालतमा उनका सहयोगीहरुको उपस्थिति थियो । भारतबाट फर्केर अदालतमा हाजिर भएका थिए । अदालतमा भोलिसम्म हाजिर हुने म्याद थियो । चतराधामका सिद्धबाबाका समर्थकहरु अदालतमा हाजिर हुनुअघि पुगिसकेका थिए ।
यसअघि उच्च अदालत विराटनगरको थुनामा राख्ने फैसला आउनुअघि सिद्धबाबा ९ माघमा भारततर्फ लागे । उनको निगरानीका लागि राखिएको सुरक्षाकर्मीलाई छाडेर जोगवनी हुँदै वेपत्ता भएका थिए । उनी वेपत्ता भएकै दिन उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको धरौटीमा रिहा गर्न गरेको फैसला उल्टाउँदै र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
अनुयायीमाथि ४ कात्तिकमा सुनसरीको चतरास्थित आश्रममै बलात्कार गरेको अभियोग लगाइएको छ । दुई बालककी आमा ती महिलाले गिरीमाथि आरोप लगाएपछि उनी संकटमा परेका थिए । महिलाले गिरीमाथि गत पौष महिनामा किटानी जाहेरी दिएकी थिइन् ।
बलात्कारको अभियोग लागेका गिरीलाई धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको थियो। ९ माघमा मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरी र्पुपक्षका लागि थुनामा राख्ने फैसला गर्यो ।
सिद्धबाबाले आफूलाई एक महिलाले नियोजित रुपमा फसाउन खोजेको दाबी गर्दै आएका छन् । उनले आफू ब्रम्हचारी भएको र महिलाप्रति उच्च सम्मान गर्ने बताएका छन् । तर, बलात्कारको आरोप लगाउने महिलाले सिद्धबाबाले आफूमाथि कात्तिक ४ गते आश्रममै बलात्कार गरेको आरोप लगाएर सजाय दिलाएरै छाड्ने बताएकी छिन् ।
–तस्बिर र भिडियो स्रोत: शशि कोइराला