Logo

भ्यागुताको रोचक प्रजननः पोथी अन्डा पार्ने भाले शुक्रकिट छर्ने (भिडियोसहित)



भ्यागुता उभयचर प्राणी हो । यो जल तथा जमीन दुवैमा बस्न सक्छ । यसलाई जीवन चक्र पुरा गर्न पानीको आवश्यकता पर्दछ ।

भ्यागुताको भाले र पोथी अलग अलग हुन्छ । भाले भ्यागुता पोथी भ्यागुता भन्दा सानो हुन्छ । यिनीहरुको सम्भोग वर्षा ऋतुमा हुन्छ । भाले र पोथी भ्यागुताबीच सम्भोग भइरहेको बेलामा पोथी भ्यागुताले अण्डा पानीमा छोडिदिन्छ । सम्भोगकै क्रममा अण्डा उत्पादन गरेर भ्यागुताको प्रजनन रोचक हुन्छ । पोथीले अन्डा पार्ने र भालेले शुक्रकिट छर्ने क्रिया एकैपटक हुन्छ ।

भ्यागुताले एकपटकमा तीन हजार देखि बीस हजारसम्म अण्डा पार्न सक्दछ । भाले भ्यागुताले ती अण्डाहरुमा शुक्रकिट छरिदिन्छ र गर्भाधारण हुन्छ । यसरी भ्यागुताको गर्भाधारण क्रिया शरीर भन्दा बाहिर हुन्छ । गर्भाधारण भएको अण्डा विस्तारै चेपागाँडामा विकसित हुन्छ । अण्डाबाट चेपागाँडा बन्न करीब एक्काइस दिन लाग्छ । चेपागाँडाले अल्गी जस्ता साना बिरुवाहरु खान्छ । यो पानीमा पौडिन्छ । यो माछाजस्तो देखिन्छ । यसको पुच्छर लामो र टाउको सजिलै चिन्न सकिन्छ ।

चेपागाँडाको यो पुरा समय पानीभित्र नै बित्छ । यो अवधि पाँच हप्ताको हुन्छ । यतिबेला यसले गिलबाट श्वास फेर्छ । पाँच हप्ता पछि चेपागाँडामा भएको थाइराइड ग्रन्थीले मेटामर्फोसिस प्रक्रिया सुरु गर्दछ । यतिबेला चेपागाँडाको तौल बढ्दै जान्छ, फोक्सो र खुट्टाको विकास हुन्छ, पुच्छर विस्तारै हराउदै जान्छ र भ्यागुता जस्तो आकारमा देखिन थाल्छ । करिब एघार हप्तापछि यसले फोक्सोबाट श्वास फेर्न सुरु गर्छ र पुच्छर पुरा हराएर जान्छ । कीराहरु खान थाल्छ । अब भ्यागुतामा जमिनमा बस्न सक्ने क्षमताको विकास भइसकेको छ । भ्यागुताको जीवनचक्र पुरा हुन आठ महिना लाग्छ, तर कहिलेकाहिं तीन बर्षसम्म पनि लाग्न सक्छ । एजेन्सीको सहयोगमा

 

 



प्रतिक्रिया दिनुहोस्