काठमाडौँ, २८ फागुन । विवाहको रौनक र उत्साहले धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित मुसहरी टोलमा आइतबारको साँझ उल्लासमय थियो। स्थानीय बेचनीदेवी सदाकी छोरी पूजाको विवाहको भव्य तयारी थियो। छिमेकी मुलुक भारतबाट करिब ६० हजार खर्चेर ल्याइएको पन्डाल, लाइट र लाउडस्पिकरले उल्लास थपेका थिए। स्वयंवर मञ्च र विवाह मण्डप (मडवा) समेत तयार थिए।
परिवार, छरछिमेक र आफन्त नयाँ पहिरनमा सजिएर जन्ती कुरिरहेका थिए। घरमा कोही गीत गाउँदै थिए भने कोही नाच्दै थिए। सजिएकी बेहुली पूजा पनि जीवनसाथी पाउने उल्लासले गदगद थिइन्। जन्तीलाई नास्ता खुवाउन मिठाईसहितका परिकार प्याक गरेर राखिएको थियो भने खानाका लागि परिकार पाक्दै थिए। तर यो खुसी टिक्न पाएन। घरपरिवार तथा टोलवासीले राति २ बजेसम्म कुरेर बसे तर जन्ती आएनन्, कारण थियो बिहेअघि नै दाइजोमा मोटरसाइकल नदिनु। आइतबार राति करिब १० बजेदेखि नै घरपरिवारले बेहुला र उनका बुवालाई फोन गर्न थाले, २ बजेसम्म पनि कसैको फोन उठेन। अनि आफन्त तथा परिवारको खुसी रुवावासीमा परिणत भयो। बेचनी बेहोस हुन थालिन्, घरिघरि दाँती लाग्न थाल्यो।
‘दुई बजेपछि एकपटक फोन उठाएर केटाका बाबुले बिहेअघि मोटरसाइकल नदिएको भन्दै यो विवाह हुन्न भनेर जवाफ फर्काए,’ पूजाकी आमा बेचनीले भनिन्, ‘हामीले जन्तीको स्वागतमा कुनै त्रुटि हुन दिन्नौं भन्यौं। जसरी पनि भोलि गाडी दिइहाल्छौं। जन्ती लिएर आउनुस् भन्यौं, बिलौना ग(यौं तर मानेनन्। फोन काट्दिए अनि उठाउनै छाडे।’ मोटरसाइकल नपाएको निहुँ बनाएर जन्ती नआएपछि राति नै पूजाका बुवा सुकदेव आफन्त र छिमेकीसहित करिब १३ जनाको समूहमा बेहुलाको घरमै पुगे। घरमा न बेहुला भेटिए न उनका बुवा। दुवैजना लुकेर बसेका थिए। करिब २० दिनअघि पूजाको विवाह धनुषाधाम नगरपालिकास्थित भुतही पटेर्वा बस्ने रोहित सदाका छोरा सुशीलसँग तय भएको थियो। विवाहमा जन्तीलाई भव्य स्वागत गर्ने, २ तोला सुन, फर्निचर र प्लाटिना मोटरसाइकल दाइजो दिने सहमति भएको थियो। त्यसैअनुरुप धुमधामका साथ सामाजिक परम्पराअनुसार फलदान (इन्गेजमेन्ट) पनि भयो। फलदानमै करिब ५० हजार रुपैयाँ खर्च भएको बेचनीले बताइन्। (नागरिक दैनिकबाट)