Logo

थेग्नै नसक्ने गरी फूल्यो आँप



काठमाडौँ, २९ फागुन । यस वर्ष आँपमा पर्याप्त फूल लागेपछि सर्लाहीका किसान खुशी भएका छन् । आँपको पकेट क्षेत्र मानिने उत्तरी चुरेभेगस्थित हरिवन नगरपालिका–२, अत्रौलीका किसान हरि बर्तौलाले बोटले नै थेग्न नसक्ने गरी आँप फूलेको जानकारी दिएका छन् ।

उनका अनुसार फूलेर ढपक्कै भएको आँपमा अहिलेसम्म रोग किराको प्रकोप देखिएको छैन् । फूलेको सबै फूलको फल लाग्यो भने बोटले थेग्न सक्ने अवस्था छैन्, बर्तौलाले भने, हावाहुरी आएर क्षति नगरे यस वर्ष आँपबाट राम्रो आम्दानी हुने आश गरेका छौँ । जिल्ला कृष ज्ञान केन्द्र मलङ्गवा, सर्लाहीका अनुसार सर्लाहीको उत्तरी भेगका हरिवन, बाग्मती, लालबन्दी र ईश्वरपुर नगरपालिकामा व्यवसायिक रुपमा आँपको खेती हुने गरेको छ । यस्तै जिल्लाका अन्य क्षेत्रमा पनि केही मात्रामा आँप खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले रोग किराको प्रकोप र हावाहुरीले क्षति नपु¥याए यस वर्ष सर्लाहीमा आँप उत्पादन राम्रो हुने सङ्केत देखिएको बताएका छन् । अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष अहिलेसम्म आँपमा कुनै प्रकोप देखिएको छैन्, मौसमले पनि साथ दिएको छ, यादवले भने, यही अवस्था रह्यो भने आँप उत्पादन राम्रो हुन्छ । देशकै सबै भन्दा ठूलो उष्ण प्रदेश बागवानी केन्द्र नवलपुर भित्रका आँपमा पनि अत्यधिक मात्रामा फूल लागेको त्यहाँका प्राविधिकहरुले बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्