Logo

कोरोना युरोपमा : प्रभाव किसानमा



सानोठिमी ८ चैत : विश्वमा फैलिरहेको कोभिड–१९ को सन्त्रासको प्रभावले यस क्षेत्रमा उत्पादन हुने हरियो सागसब्जी निकै सस्तो भएको छ ।

कोभिड– १९ को सन्त्रासका कारण उपभोग्य वस्तुको अभाव र मूल्य बढ्ने हो कि भन्ने चिन्ता भइरहेकै बेला यहाँ किसान भने हरियो सागसब्जी सस्तो मूल्यमा बेच्न परेको गुनासो गरिरहेका छन् ।

यहाँका किसान सरोज महर्जनले भने, “कोरोनाको सन्त्रासले कृषि क्षेत्रलाई पनि निकै समस्या पारेको छ । सागसब्जी सस्तो छ, बिक्दैन । मान्छे उपत्यका बाहिर गए, ठूला होटल बन्द भए, सब्जी खाने मान्छे छैन ।” पुस्तौनी हरियो सागसब्जी खेती गर्दै महर्जनका अरु दुई दाजुभाइ तुल्सीराम र विकेस पनि यसै पेशामा संलग्न छन् । उनीहरुको परिवार धान्ने मुख्य उत्पादन चौसुर–पालुङ्गो, धनियाँ, गाँजर र हरियो प्याज हो । त्यो अहिले निकै सस्तिएको छ ।

महर्जनले भने, “अहिले हामी निकै घाटामा छौँ, छोराछोरीको पढाई खर्च उठाउन त परैजाओस् परिवार धान्नलाई पनि हम्मेहम्मे परेको छ । कुनै बेला धनियाँको साग प्रतिकिलो रु १०० सम्म बिक्री गरेकामा अहिले १० रुपैयाँमा पनि व्यापारी किन्न मान्दैनन्, होटल बन्दछ, विदेशी छैन, लगेर मात्र के गर्नु व्यापारी भन्छन् ।”

ठिमीको नगदेश र मनोहरा क्षेत्रका किसानले वर्षमा पाँच पटक हरियो तरकारी उत्पादन गर्दैआएका छन् । गाँजर भने उनीहरुले वर्षमा दुई पटक उत्पादन गर्दछन् । कुनै बेला प्रतिकिलो ६० सम्म गाँजर बेचेका त्यस क्षेत्रका किसानले आठ रुपैयाँ किलो बेच्नुपर्दा कसरी व्यवसाय र घर चलाउन सकिन्छ भनी प्रश्न गरे ।

जापानी असल जातको गाँजरको बीउको मूल्य १० हजारभन्दा बढी पर्छ, माटो मुनि फल्ने हुँदा ठेगान हुँदैन, असल बीउ परेन भने गाँजर धेरै फुट्छ, हागाबिगा र डुकु आउँछ । जापानिज बीउ भनेर बिसाएर बेच्छ, त्यसको मार हामीमा पर्छ, असल बीउ परेन भने लगानी उठ्दैन, पुख्र्यौली पेशा धान्न धौधौ परेको अर्का किसान तुलसीराम महर्जन गुनासो गरे ।

सिंहदरबारबाट घोषणा भएको कृषि अनुदान महसुस गर्न नपाएको बताउँदै उनले भने, “कृषि अनुदान आयो भन्छन्, सब भित्रभित्रै दुई नम्बरी गर्छन् । बिचैमा हराउँछ, कसले खाँन्छन् अत्तोपत्तो हुन्न, अनुदान त परैजाओस् बाली लगाउने बेला बीउ सटेज गर्छन् । महङ्गोमा किन्न बाध्य हुनुपर्छ ।” मुलुकमा दूरदर्शी नेतृत्व नभएका कारण उत्पादन हुने खेतबारी घडेरी र बाटोमा परिणत हुन गयो भन्ने विचार राख्ने महर्जन परिवारले जाडो होस् कि गर्मी जुनसुकै बेला हरियो सागसब्जी खर्पन बोकेर राति १ बजे नगदेश पु¥याएर बेच्दै आएको घटना सुनाए ।

उनीहरुले लगेको साग तुरुन्तै बिक्री भएमा घर आएर केही समय सुत्न पाइने अन्यथा बिहानसम्म कुर्नपर्ने हुन्छ । उनीहरुको आराम गर्ने र निदाउने समय प्रत्येक दिन तीनदेखि पाँच घण्टासम्म मात्र हो । कहिलेकाहीँ उनीहरु साग बेच्न कालीमाटी बजारसम्म पनि पुग्ने गरेको बताउँछन् ।

उनी कहिलेकाहीँ कालिमाटीसम्म पुग्छन्, अरुको जमिन भाडा लिएर खेती गर्न अहिले निकै कठिन छ, मेहनत मात्रै खेर जान्छ, लगानी उठ्दैन । हरियो सागसब्जी उत्पादनको विकल्पमा जग्गा बेचेर पसल थाप्नुपर्छ कि भनेर योजना बुनिरहेका महर्जन परिवारको भूकम्पमा घर क्षति भए पनि अनुदान पाउन सकेनन् । भूकम्पछि ४० लाख खर्च गरेर बनाएरको घरलाई इञ्जिनीयरले मिलेन भन्यो, अनुदान दिएन सरोजले भने ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot