Logo

सामुदायिक भवनमा क्वारेन्टाइन



काठमाडौ,१३ चैत्र । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहको भवनमा क्वारेन्टाइन सञ्चालन गरेको छ । सरकारले देशैभरि कोरोनाको सङ्क्रमण रोक्नका लागि शुरु गरेको लकडाउनसँगै गाउँपालिकाले वडा नं. ५ स्थित देउरालीस्थित ठूलोवन सामुदायिक वन उपभोक्ता समूहको भवनमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो ।

विशेषतः विदेशबाट गाउँ आउने व्यक्तिबाट भाइरसको उच्च जोखिम रहेको भन्दै हालै विदेशबाट आएका व्यक्तिलाई १५ दिनसम्म निगरानीमा राख्ने लक्ष्यसाथ क्वारेन्टाइन सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उहाँका अनुसार करिब दुई सय बेड क्षमता रहेको उक्त क्वारेन्टाइनमा हाल २२ व्यक्ति रहेका छन् ।

शहरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि गाउँमा त्यसको खासै अनुभूति गर्न नसकिएको वास्तविकतामा विदेशबाट हालै आएर गाउँ प्रवेश गर्ने जोकोही व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले बताए । गण्डकी प्रदेशअन्तर्गतका विभिन्न ३४२ सामुदायिक वन उपभोक्ता समूहका भवन रहेको र आवश्यकतानुसार सरकारले प्रयोग गर्न सक्ने सामुदायिक वन उपभोक्ता महासङ्घ प्रदेश अध्यक्ष कालीदास सुवेदीले राससलाई जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्