Logo

लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई बहुउद्देश्यीय सहकारी संस्थाद्वारा मास्क र स्यानीटाइजर वितरण



काठमाडौँ, १७ चैत । रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले लकडाउनमा खटिएका तीनवटै निकायका सुरक्षाकर्मीलाई मास्क, पन्जा, पानी र स्यानीटाइजर वितरण गरेको छ । सोमबार रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले कालिमाटी, बल्खु र कलंकीस्थित लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई मास्क, पन्जा, पानी र स्यानीटाइजर वितरण गरेको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएको छ । नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले एक सातादेखि लकडाउन गरेको छ । लकडाउनमा खटिएका सम्पूर्ण सुरक्षा निकायका सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई ध्यानमा राखी उक्त संस्थाले मास्क, पन्जा, पानी र स्यानीटाइजर वितरण गरेको छ । उक्त संस्थाले विपन्न वर्ग र सर्वसाधारणसमेतलाई मास्क, पन्जा र स्यानीटाइजर वितरण गरेको छ । संस्थाले कालिमाटी, बल्खु र कलंकी क्षेत्रमा पाँच सय मास्क, दुई सय डिस्पोजेवल पन्जा, १० कार्टुन पानी र स्यानीटाइजर वितरण गरेको छ ।

यस्तो महामारीको अवस्थामा सम्पूर्ण नेपालीहरु एकजुट भइ लड्न पर्ने संस्थाले जनाएको छ । संस्थाले सम्पूर्ण नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्ने आग्रह गरेको छ । घरमै बसेर संक्रमणको जोखिम न्यूनीकरण गर्न र बेला बेलामा साबुन पानीले हात धुनसमेत संस्थाले सुझाएको छ ।

लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई अत्यावश्यक सामाग्री वितरण गरेकोमा सुरक्षाकर्मीलाई केही राहत हुनेछ । संस्थाले चालेको कदम निकै सराहनीय भएको भन्दै सुरक्षाकर्मीहरुले खुसी व्यक्त गरेका छन् । संक्रमणको रोकथाम गर्न नागरिकहरुले सरकारलाई सहयोग पुर्याई आफू र आफ्नो देशलाई जोगाउन एकजुट भइ लड्न र सरकारले जारी गरेको लकडाउनको पालना गर्न आवश्यक रहेको संस्थाले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot