Logo

कोरोना भाइरसः चार दिनयता नयाँ संक्रमित भेटिएनन्



काठमाडौं, १८ चैत्र । गत हप्ता लगातार चारजना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएकोमा यो हप्ताको तीन दिनसम्म नयाँ संक्रमित भेटिएका छैनन् । संक्रमित नभेटिएपनि आशंकितहरुको टेष्ट लिने र आइशोलेनमा राख्ने क्रम भने बढेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज पनि नयाँ संक्रमित नभेटिएको जानकारी दिए । उनले ७७ जना आइशोलेशनमा रहेको बताए ।

यसअघि गत हप्ता चारजना कोरोना भाइरस संक्रमित भेटिएका थिए । ९ माघमा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएपनि त्यसयता दुई महिना कुनैपनि संक्रमित भेटिएका थिएनन् । ९ चैत्रमा दोस्रोपटक संक्रमण फेला पर्यो । त्यसपछि सरकारले लकडाउनको निर्णय गर्यो । लगातार चारजनामा यसै हप्ता संक्रमण भेटिएको छ । भेटिएका सबैजना विदेशबाट नेपाल फर्किएको दुई हप्ताभन्दा कम समय भएको छ । यसकारण उनीहरुले विदेशबाट संक्रमित भएको बुझिएको छ ।

संक्रमितमध्ये दुईजना युरोप, दुईजना संयुक्त अरब इमिरेट्स र एकजना चीनबाट फर्केका नेपाली हुन् । दुईजना वैदेशिक रोजगारीबाट फर्केका हुन् भने तीन जना अध्ययनका सिलसिलामा विदेश गएका विद्यार्थी हुन् ।

यसैगरी, संक्रमित चारजनाको स्वास्थ्यमा सुधार भइरहेको बुझिएको छ । उनीहरु सामान्य अवस्थामा आइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चारजनामध्ये दुईजना काठमाडौं उपत्यका बाहिर र दुईजना काठमाडौं उपत्यकाभित्र टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका छन् ।

संक्रमितबारे
पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्

Screenshot