Logo

देउवाले बोलाएको विपक्षीहरुको बैठकमा जनमत सहभागी भएन, मधेश सरकार प्राथमिकतामा



काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको संयुक्त बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टी सहभागी भएन । जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवदेखि लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुरसम्म सहभागी हुँदा जनमतबाट कोही पनि बैठकमा सहभागी भएनन् ।

देउवाले बोलाएको बैठकमा राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानबहादुर शाही गएका थिए । तर, जनमतलाई निम्तो दिँदापनि गएन । जनमत पार्टीले सत्ता पक्षसँग सहकार्यको प्रयास थालेको छ । मधेश प्रदेशको सरकारको नेतृत्व लिनेगरि जनमत पार्टी एमाले–माओवादी गठबन्धनमा सरिक हुन खोजेको चर्चा छ ।

यद्धपी मधेश सरकारको नेतृत्वको लागि एमाले, माओवादी र जनमतबीच सहमति भएको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतलाई सरकारमा सहभागी गराउन खोजिरहेका छन् । विकसित राजनीतिक घट्नाक्रमको विश्लेषण गरेर नै जनमत आज देउवाले बोलाएको विपक्षीहरुको बैठकमा सहभागी नभएको हो ।

जनमत पार्टीका अध्यक्ष राउतको सचिवालयले भने राउत पारिवारिक काममा व्यस्त छन् । सांसद अनितादेवी साह कामको सिलसिलामा धुलिखेलमा छिन् । उनी केहीबेरमा काठमाडौं आउने बुझिएको छ । उपाध्यक्ष अब्दुल खानलाई भने बैठकको लागि निम्तो नआएको उनको सचिवालयले जनायो ।

मधेश प्रदेश सरकार गठनमा प्रधानमन्त्री दाहालले महन्थ नेतृत्वको लोसपाको पनि साथ खोजेका छन् । त्यसको लागि उनले हिजो (बिहीबार) ठाकुर र नेता शरदसिंह भण्डारीसँग गम्भीर छलफलसमेत गरिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्