Logo

कोरोनाको कहरमा उद्योगी लागे मास्क र तरकारीतर्फ



ज्याेति शाह: कोरोना भाईरस कोभिड–१९ को महामारीबाट यतिबेला विश्व ग्रसित बनेको छ । शक्तिशाली मुलुकदेखि ससाना देशहरु समेत अर्थतन्त्रमा पर्न सक्ने गभिंर संकटको भयमा छन् ।

कुनै ठूलो विपत्ति आफैमा दुःख र त्रास त हो नै तर नयाँ सोच र परिवर्तनका साथ काम गर्ने अवसर पनि हो भनेझैँ केही परिदृश्यहरु कोरोना कहरकै दौरान विश्वभर देखिन थालेका छन् ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानीयाँ महामारी, संकट र अभावको बेला कानुन, समाजको स्वभाव र नीति तथा व्यापारको आयामहरु परिवर्तन हुने बताउँछन् । ठिक त्यस्तै केही अनुभवहरु यहाँ हामी प्रस्तुत गर्दैछौँ । जसलाई कोरोना कहरले सृजना गरेको अवसर पनि भन्न सकिन्छ ।

  • सामसुङ मोबाईलबाट मास्कतर्फ मल्होत्रा

नेपालमा सामसुङ मोबाईलको ठूला व्यापारी हुन् दीपक मल्होत्रा । यस अघि सबैले उनलाई मोबाईल व्यापारी भन्थे तर कोरोना महामारी पछि उनको परिचय फेरिएको छ । कोरोना संक्रमण बढ्न थालेसंगै नेपालमा मास्क र स्यानीटाईजरको ठूलो अभाव सृजना भयो ।

त्यही अभाव चिर्न सरकारसंग समन्वय गरेर मल्होत्राले एकै दिन ७० हजार थान मास्क उत्पादन गर्ने मेसिन झिकाए । मल्होत्राले झिकाएको मेसिनले अहिले दैनिक ५० देखि ७० हजार हाराहारी मास्क उत्पादन गरिरहेको छ । कोरोनाको महासंकटमा मूख्य अभाव भएको वस्तुको उत्पादन र व्यापारले मल्होत्राको परिचय नै बदली दिएको छ ।

  • किबोर्डबाट सर्जिकल मास्क

सिंगापुरमा मूख्य कार्यालय रहेको रेजर कम्पनी निकै गुणस्तरीय कम्प्युटर एसेसरीज तथा अनलाईन गेम निर्माता कम्पनी हो । कप्युटरमा प्रयोग हुने माउस, किबोर्ड, माउस प्याड तथा भिडिओ गेम लगायतका एसेसरिज बनाउने उक्त कम्पनीले कोरोना महामारी विश्वभर फैलिएसंगै आफ्ना केही म्यानुफ्याक्जरीङ शाखा मास्क उत्पादनमा लगाएको छ ।

रेजरका प्रमुख कार्यकारी निर्देशक मेङ लिङ ताङले १९ मार्चमा ट्वीट गर्दै यस्तो घोषणा गरेका थिए । उनले विश्वभर रहेको मास्कको अभाव चिर्न नयाँ व्यवसाय घोषणा गरेको जनाएका छन् ।

  • टेलर्सबाट हरियो तरकारी

चाबाहिलमा लामो समयदेखि टेलरीङ पसल चलाउँदै आएका मनसुरले कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेसँगै आफ्नो पसल बन्द गरे ।

टेलरीङ व्यवसाय सरकारले तोकेको अत्यावश्यक सेवाको क्षेत्रमा पर्दैन । तसर्थ आफ्नो पसल बन्द गर्नु मनसुरका लागि सरकारी नीतिको हिसाबले पनि बाध्यकारी थियो । लकडाउनको तेस्रो दिनसम्म बन्द मनसुरको टेलर्समा चौथोदिन नयाँ दृश्य देखियो । यस अघि टेलर्समा चिटिक्क परेर लुगा मिलाउँदै बस्ने मन्सुर उक्त दिन टेलर्स परिसरमा टन्न हरियो साग र तरकारी लिएर बिक्रीका लागि बसेका थिए ।

टेलर्स चल्न नपाए पछि भाडा तिर्न र परिवार पाल्न सरकारको नीतिअनुसार आफूलाई पनि परिवर्तन गरेको उनले बताए । गृहमन्त्रालयले जारी गरेको अत्यावश्यक सेवा र वस्तुको सूचीमा तरकारी तथा खाद्यान्न व्यवसाय पनि पर्छ जो बन्द गर्नु पर्दैन ।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot