Logo

अमेरिकाको राजनीतिमा प्रभाव राख्ने प्राध्यापक विष्णु पौडेलको कुर्सीमा बसेकै अवस्थामा निधन



अमेरिका, ४ वैशाख । अमेरिकाका उच्च पदस्थ राजनीतिज्ञहरु माझ प्रभावशाली व्यक्तित्व ८९ बर्षका प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन भएको छ । उनको आज विहान ११ बजे आफ्नै निवासमा निधन भएको त्यहाँबाट मेदिनी अधिकारीले जानकारी दिए ।

दुई छोरी र एक छोराका पिता पौडेल श्रीमति डाक्टर प्रमिला पौडेलका साथमा भर्जिनियामा बस्दै आएका थिए। उनको विहान बसेकै कुर्सीमा निधन भएको जनाइएको छ । नर्सले पटकपटक बोलाउँदा पनि नबोलेपछि नजिक गएर हेर्दा मृत्यु भइसकेको थियो । तत्काल फेयरफ्याक्स अस्पतालमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । पौडेलको पुख्यौली घर नुवाकोट हो ।

झण्डै ५० बर्ष भन्दा अगाडि अमेरिका आएका पौडेल अमेरिकाका डेमोक्रेटिक उच्च पदस्थ राजनीतिज्ञहरुमाझ निकै प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो भने उनलाई नेपालका लागि अमेरिकी राजदूत बनाउनका लागि डेमोक्रेटिक पार्टीका नेताहरुले तीनपटकसम्म सिफारिस गरेका थिए । उनी भारतीय कैयन राजनीतिज्ञहरुमाझ पनि चर्चित र प्रभावशाली व्यक्तित्व थिए।

विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनीबाट साउथ एशिया क्षेत्रको नीति निर्माणका सन्दर्भमा अमेरिकी विदेशमन्त्रालयले समेत परामर्श लिने गरेको थियो । नेपाली, हिन्दी, अँग्रेजी र संस्कृत भाषामा समेत उच्च दख्खल राख्ने पौडेलले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका थिए ।

त्यसपछि २०२२ सालमा धनकुटा क्याम्पसमा क्याम्पस प्रमुख समेत हुनुभएका पौडेल अमेरिकामा प्राध्यापमकका रुपमा आएका थिए भने पछिल्लो समय भर्जिनियाको अमेरिकन कलेज अफ कमर्श एण्ड टेक्नोलोजीमा प्रोफेसर थिए । उनी उक्त कलेजको बोर्ड अफ ट्रस्टीको चेयर समेत थिए ।

उनी इक्वालिटी फाउण्डेशनका संस्थापक अध्यक्ष थिए भने अमेरिकाको पुरानो नेपाली संस्था एनएनएका उपाध्यक्ष समेत थिए । उनको निधनले अमेरिकाको नेपाली डायस्पोरामा अपुरणीय क्षति पुगेको सामाजिक व्यक्तित्व इक्वालिटी फाउण्डेशनका सीईओ तथा एएनएका वर्तमान अध्यक्ष मेदिनी अधिकारीले बताए । उनले भने – ‘अमेरिकामा यो स्तरमा उच्च राजनीतिक तहसम्म पहुँच कायम गर्ने नेपाली मुलको व्यक्ति अरु कोही थिएन । उहाँको निधनबाट हामी स्तब्ध भएका छौं ।’ खसोसाखबाट (सामान्य सम्पादन गरिएको)



प्रतिक्रिया दिनुहोस्

Screenshot