Logo

रिपोर्टर्स क्लब नेपालको अमेरिका शाखाले सञ्चालनमा ल्यायो आफ्नै न्यूजपोर्टल



काठमाडौं, १७ असोज । रिपोर्टर्स क्लब नेपालको अमेरिका शाखाले आजबाट रिपोटर्स क्लब अमेरिका डटकम https://reportersclubamerica.com नामक अनलाईन सँस्करण सन्चालनमा ल्याएको छ । अमेरिकामा रहेका नेपाली समुदायलाई लक्षित गरि सन्चालनमा ल्याईएको उक्त खबर पत्रिका नेपाल र अमेरिकाबाट एकसाथ सम्पादन हुने क्लबका अमेरिका शाखा अध्यक्ष किशन रेग्मीले जानकारी दिए ।

उक्त खबर पत्रिकाको रिपोटर्स क्लब नेपालका केन्द्रीय सभापति ऋषि धमलाले फूलपातीको अवसर पारेर शुभारम्भ गरेका हुन् । खबर पत्रिकाको शुभारम्भ गर्दै सभापति धमलाले रिपोटर्स क्लब अमेरिका डटकम अनलाईन खबर पत्रिका अमेरिकामा रहेका नेपाली समुदायका माझमा लोकप्रिय बन्ने बिश्वास ब्यक्त गरेका थिए ।

अमेरिकाको व्यस्त जीवनशैलीका बीचमा ब्यवसायिक पत्रकारिता गर्नु चुनौती रहेको बताउदै सभापति धमलाले क्लबको अमेरिका शाखाले गरेको प्रयासको मुक्तकण्ठले प्रशँसा गरे । अनलाईन खबर पत्रिकामा नेपाली समुदायका गतिबिधीहरु, अमेरिकाको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक क्षेत्रमा नेपाली समुदायले पुर्‍याएको योगदानका बिषयमा सामग्रीहरु समेट्दै नेपाल अमेरिका सम्बन्धलाई थप सुमधुर बनाउनु पर्नेमा धमलाको जोड थियो ।

अनलाईन खबर पत्रिकाको शुभारम्भ कार्यक्रममा क्लबका अमेरिका शाखाका अध्यक्ष किशन रेग्मीले अमेरिका शाखाका गतिबिधीहरु, अनलाईन खबर पत्रिकाका प्रधान सम्पादक अनिता आचार्यले अनलाईन पत्रिकामा समेटिने विषयबस्तु र तयारीका बिषयमा चर्चा गरेका थिए । पत्रिकाको प्रधान सम्पादकमा अनिता आचार्य, सम्पादक प्रसन्न ढुँगाना र कार्यकारी सम्पादकमा शँकर थापा रहेका छन ।

रिपोर्टर्स क्लब नेपालको अमेरिका शाखामा अमेरिकाका बिभिन्न राज्यमा रहेर सकृय पत्रकारिता गरिरहेका पत्रकारहरु आबद्ध रहेका छन ।



प्रतिक्रिया दिनुहोस्