Logo

सबा दुई करोडले अमेरिकामा बेरोजगारी बिमा रकम फाइल गरे



अमेरिका, ४ वैशाख । विगत चारसाताको अन्तरालमा अमेरिकामा २ करोड २० लाखले बेरोजगारी सुविधाका लागि आवेदन दिएका छन् । उनीहरु कोरोना भाइरसका कारण बेतलवी विदामा रहेकाहरु र अस्थायी रुपमा काम गुमाएकाहरु समेत हुन् । अमेरिकी सरकारले कोरोनाको महामारीबाट बच्न अत्यावश्यक बाहेकका अन्य कामदारलाई घरमै बस्न भनेपछि लाखौं व्यक्ति विनातलब घरमा बस्न बाध्य भएका छन् ।

गत मार्च १४ पछिको अवधिमा उनीहरुले वेरोजगारी सुविधाका लागि फायल गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण वेरोजगार भएकाहरुलाई अमेरिकाको संघीय सरकारले साप्ताहिक ६ सय र राज्य सरकारले नियमित वेरोजगारी विमा रकम प्रदान गर्दछ । संघीय सरकारले प्रदान गर्ने साप्ताहिक ६ सय भने कतिपय राज्यमा अझै दिन सुरु गरिएको छैन ।

सन् १९६७ यता अमेरिकी सरकारको लेबर डिपार्टमेन्टले तथ्यांक राख्न सुरुगरेदेखि यति धेरै बेरोजगारी विमा रकमका लागि आवेदन दिइएको यो नै पहिलोपटक हो । भयानक आर्थिक मन्दीका बेलामा पनि झण्डै ८६ लाख अमेरिकनलाई काम गुमाउनका लागि झण्डै २ बर्ष लागेको थियो ।

अप्रिल ५ देखि ११ सम्ममात्र बेरोजगारी विमा रकमका लागि आवेदन दिनेहरु ५२ लाख रहेका छन् । गत फरबरीमा अमेरिकामा बेरोजगारी दर ऐतिहासिक रुपमा नै कम अर्थात् ३ दशमलव ५ प्रतिशत थियो । अ अप्रिलमा यो दर दोहोरो अंकमा पुगेको छ । अप्रिलमा १५ प्रतिशतसम्म बेरोजगारी दर बढ्ने अनुमान गरिएको छ ।

न्युयोर्क लगायतका ६ वटा राज्यहरुका लागि १० हप्तासम्ममात्र बेरोजगारी विमा रकम प्रदान गर्ने कोष रहेको र बाँकी रकमका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको छ । अप्रिल ११ सम्म अमेरिकामा १ करोड २० लाखले बेरोजगारी विमा बापतको रकम पाउन सुरु गरिसकेका छन् ।

सरकारले सेल्फ इम्प्लोयड लगायतका कामदारका लागि पनि बेरोजगारी रकम प्राप्त गर्ने व्यवस्था गरेको छ । तर कैयन कामदारहरुले उक्त रकम प्राप्त गर्न निकै संघर्ष गर्नुपरिरहेको बताएका छन् ।-खसोखासबाट



प्रतिक्रिया दिनुहोस्