Logo

न्युयोर्कमा विद्यालय लगायत सम्पूर्ण कार्यालय बन्द, मे १५ सम्म लकडाउन लम्ब्याइने



५ वैशाख । अमेरिकाको न्युयोर्क राज्यका गभर्नरले यहाँका अत्यावश्यक बाहेकका व्यवसाय, प्रतिष्ठानहरु र विद्यालयहरु मे १५ सम्म नखुल्ने बताएका छन् ।

यी क्षेत्रहरु अहिले पनि बन्द रहेका र आगामी मे १५ सम्म नै नखुल्ने जानकारी गभर्नर एन्ड्रयु कुओमोले जानकारी दिएका हुन् ।

बिहीबार उनले संयुक्त राज्य अमेरिकाले कोविड १९ को संक्रमणलाई रोक्ने प्रयासस्वरुप यो निर्णय गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

कुओमोले उनको नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार यो जानकारी दिएका थिए । साथै उनले न्युयोर्क वरिपरिका राज्यहरुसँग पनि आवश्यक परामर्श गरेर यो निर्णय लिइएको जानकारी गराए ।

उनले पछिल्ला केही दिनहरुमा यस राज्यमा कोविड १९ का कारणले भर्ना हुन आउने तथा आइसियुमा राख्नुपर्ने अवस्थाका विरामीहरको संख्या घट्दो मात्रामा रहेको जानकारी पनि दिए ।

तर पनि अहिले नै उद्योग कारखाना तथा सबै बजार खुल्न मिल्ने अवस्था भने नरहेकोले सतर्कता अपनाउन पनि न्युयोर्कका गभर्नरले सबैसँग अपिल गरेका छन् ।

उनले आगामी केही हप्तामा अवस्था नियन्त्रणमा आउने भन्दै छिमेकी राज्यहरुसँगको परामर्शबाट बजार तथा विद्यालय खोल्नेसम्बन्धी निर्णय जतिसक्दो चाँडै गर्ने पनि उनले बताएका छन् ।

अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट मृत्यु हुनेको संख्या ३४ हजार भन्दा माथि रहेको अवस्थामा गभर्नरको यो भनाई आएको हो ।

अमेरिकाबाट प्राप्त पछिल्लो समाचारमा अनुसार यहाँ संक्रमितको संख्या पनि विश्वको अरु देशका तुलनामा सबैभन्दा बढी रहेको छ ।
अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३४ हजार ७८४ जना पुगेको छ ।

नेपाली समयानुसार शुक्रबार अपरान्हसम्म अमेरिकामा यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ ।
कोरोना भाइरसबाट शुक्रबार अपरान्हसम्म संक्रमित हुने ६ लाख ७६ हजार ६७६ पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot