Logo

स्वास्थ्य सामग्री खरिद सम्झौता गर्न पत्राचार



काठमाडौँ, ६ वैशाख । कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न नेपालले भारत र चीनलाई सम्झौतापत्र पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारत र चीनको दूतावासमार्फत सम्झौतापत्र पठाएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार भारत र चीनले सम्झौतापत्रलाई अध्ययन गरी खरिद प्रक्रियाबारे केही शर्तसहित प्रतिउत्तर पठाउन सक्छन् । त्यस्तो प्रतिउत्तर आउँछ भने त्यसमा पुनः छलफल गर्न सकिन्छ, अन्यथा त्यही पत्रलाई नै अन्तिम मान्न सकिने छ । ‘‘सरकारले स्वास्थ्य सामग्री खरिदका लागि अर्थ मन्त्रालयमार्फत बजेटसमेत छुट्याइसकेको छ तर हामीलाई त्यसको औपचारिकपत्र आइपुगेको छैन’’, नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले थप्नुभयो, ‘‘नेपाली सेना भुक्तानीसम्बन्धी सरकारको औपचारिकपत्र कुरिरहेको छ ।’’ पत्र प्राप्त हुने बितिकै भारत र चीनलाई भुक्तानी पठाइने बताउँदै उनले भुक्तानी पठाएको एक हप्ताभित्र सामान नेपाल आइपुग्ने जानकारी प्रवक्ता पाण्डेले दिएका छन् । उनका अनुसार पीपीई, मास्क र रिजेन्ट किटसहित चीनबाट ६७ प्रकारका र भारतबाट ५३ प्रकारका स्वास्थ्य सामग्री तथा औषधि खरिद गर्न लागिएको हो ।

नेपाललाई औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको चिनियाँ कम्पनी विश्वका अन्य ८० मुलुकमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि औषधि तथा स्वास्थ्य सामग्री आपूर्ति गरिरहेका छन् । नेपाल उक्त कम्पनीको ८१औँ सूचीमा छ । भारतले दिल्लीस्थित नेपाली दूतावासलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने छ र त्यहाँबाट नेपालले ढुवानी गर्ने छ । त्यसैगरी, चीनले ग्वान्जाओमा स्वास्थ्य सामग्री उपलब्ध गराउने छ र त्यह९ाँबाट नेपालले ल्याउने छ । यसअघि नेपालले स्वास्थ्य सामग्रीको अन्तिम सूची तयार गरी भारत र चीनलाई पठाइसकेको छ । मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र नेपाली सेनाका पदाधिकारीहरू सहित आइतबार बसेको बैठकले खरिद गर्न लागिएको औषधि र स्वास्थ्य सामग्रीको सूचीलाई अन्तिम रूप दिएको थियो । त्यसपछि सो सूची भारत र चीन पठाइएको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्