Logo

बीस उद्योगबाट स्यानिटाइजर उत्पादन



काठमाडौँ, ६ वैशाख । सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ ।

यसअघि भारतसँग निर्भर नेपालले गत फागुनदेखि भारतमा नै महामारीका कारण नेपालमा स्यानिटाइजर र माक्स भित्रिन छाडेपछि औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई उत्पादनको अनुमति दिन थालेको हो । विभागले गत फागुन महिनामै नेपालमा स्यानिटाइजर र माक्सको अभावका नाममा कालोबजारी सुरू भएपछि यी सामानको उत्पादनका लागि नेपाली औषधि उद्योगीलाई आब्हान गरेको थियो ।

विभागको सोही आब्हानपछि हाल सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडसहित अन्य निजी उद्योग गरी झण्डै २० वटाले स्यानिटाइजर उत्पादन गर्ने गरी अनुमति लिएर उत्पादन सुरू गरेको विभागले जनाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारमा पर्याप्त मात्रामा नेपाली कम्पनीले उत्पादन गरेका गुणस्तरीय हण्ड स्यानिटाइजर बजारमा आपूर्ति भइसकेको जानकारी दिएका छन् । उनले औषधि व्यवस्था विभागको मापदण्ड अनुसार दर्ता भएका, अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत भएका औषधि कम्पनीले उत्पादन गरेका स्यानिटाइजर मात्रै प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् ।

विभागका अनुसार नेपाल औषधि लिमिडेट, लोमस फर्मास्युटिकल्स, एमडिएच फर्मास्युटिकल्स, अर्याफर्मा ल्याब, नोभा जेनेटिक फर्मास्युटिकल्सलगायतका विभिन्न २० वटा कम्पनीले स्यानिटाइजर उत्पादन थालेका छन र अन्यले पनि अनुमति लिने क्रममा रहेका छन । यी कम्पनीले उत्पादनलाई निरन्तरता दिइरहेका र पर्याप्त मात्रामा बजारमा गइरहेकाले र कतै अभाव भएको खण्डमा सम्बन्धित क्षेत्रका औषधि पसल तथा अन्य विक्रेताले ती कम्पनीसँग सिधै सम्र्पक गरेर लग्न सकिने विभागका महानिर्देशक ढकालको भनाइ छ ।
ती कम्पनीबाट उत्पादित हण्ड स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्ड अनुसार गुणस्तरीय हुनु पर्ने भएकाले उनीहरूको उत्पादनमा कुनै कमजोरी भएमा औषधि ऐन अनुसार कारबाही हुन्छ उनले थपे । अनुमति लिएका कम्पनीले उत्पादन गरेका स्यानिटाइजरको गुणस्तर भए वा नभएको बारेमा ल्याबमा परीक्षण गर्ने काम भइरहेको र त्यसको गुणस्तर डब्लुएचओले तोके अनुसार नभए तत्काल उद्योगको दर्ता खारेजीदेखि त्यसले पारेको नकारात्मक प्रभावका आधारमा कारबाही गरिने महानिर्देशक ढकालले जानकारी दिएका छन् ।

विभागका अनुसार नेपालमा अहिलेसम्म ६३ वटा एओपेथिक औषधि उत्पादन गर्ने औषधि उद्योग सञ्चालनमा छन भने आयुर्बेद औषधि उत्पादक कम्पनीले भने विभागबाट नयाँ उद्योगले अनुमति लिने क्रममा छन । औषधि व्यवस्था विभागले हण्ड स्यानिटाइजरलाई औषधीय वस्तुमा सूचीकृत गरी तीन महिनाभित्र दर्ता भएर उत्पादन गर्न औषधि उद्योगलाई आब्हान गरेको थियो । यसअघि दर्ता प्रक्रियामा नभएका नेपाली कम्पनीले ह्याण्ड स्यानिटाइजर उत्पादन गरेका थिएन ।(गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्