Logo

कोरोनाविरुद्ध वैश्विक लडाइँ



काठमाडौँ, ६ वैशाख । गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको कोरोना सङ्क्रमण अहिले २१० देशमा फैलिएको छ । सुरुमा भाइरल इन्फ्लुएन्जा मानिएको कोरोना सङ्क्रमण स्थानीय, अन्तरदेशीय हुँदै वैश्विक महामारीको रुपमा विस्तार हुँदै गर्दा यो भाइरसबाट लाग्ने रोगलाई विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ नामकरण गरेको हो ।

कोरोना सङ्क्रमणले हालसम्म २० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भइसकेका छन् भने करिब डेढ लाख व्यक्तिको मृत्यु भइसकेको छ । कोरोना तीव्र गतिमा फैलिने भाइरस भए पनि यसको मृत्युदर निकै कम छ । यही प्रकृतिको भाइरस सार्सको मृत्युदर १० प्रतिशत थियो भने मर्सको मृत्युदर ३० प्रतिशत थियो । यो नोबेल कोरोना भाइरस सङ्क्रमणको मृत्युदर ३ दशमलब ५ प्रतिशत मात्र छ । कोरोना सङ्क्रमण पोजिटिभ देखिएकामध्ये ८५ प्रतिशतलाई सामान्य लक्षण देखिएर आफैँ निको हुन्छ । बाँकी ७ प्रतिशत सामान्य उपचारले निको हुन्छन् भने बाँकी ८ प्रतिशतलाई आईसीयू तथा भेन्टिलेटरको आवश्यकता पर्न सक्छ ।

तीमध्ये पनि आधी बिरामी निको हुन्छन् भने करिब ३.५ प्रतिशत (देश अनुसार ) दशमलब ४ प्रतिशतदेखि ५ दशमलब ५ प्रतिशतसम्मको निधन हुन्छ । दुई महिना पहिले सङ्क्रमित व्यक्तिमध्ये १८ प्रतिशतमा गम्भीर लक्षण देखिएका थिए भने बन्दाबन्दी(लकडाउन), निगरानी(क्वारेन्टाइन), एकान्तवास(आइसोलेसन) तथा प्रभावकारी उपचारको कारण हाल ४ देखि ५ प्रतिशतमा मात्र गम्भीर लक्षण देखिएका छन् । बाँकीमा सामान्य लक्षण देखिएका छन् । कोभिड–१९ भाइरल सङ्क्रमण भएको तथा नयाँ रोग भएकोले यसको विशिष्ट औषधि हालसम्म उपलब्ध छैन । चीन, भारत, युरोप, अमेरिका आदिले जापानिज इन्फ्लुएन्जा, सार्स, मलेरियाको औषधि, जिंक, द्वितीय सङ्क्रमणका लागि एन्टिबायोटिकलगायतका औषधि प्रयोग गरिरहेका छन् । यी औषधिले भाइरसको प्रसार रोक्न सहयोगी भएको सम्बन्धित देशले बताएका छन् । त्यस्तै अक्सिजन, भेन्टिलेटर लगायतका जीवनरक्षक उपकरण यो रोगबाट बचाउन ठूलो सहयोगी बनेका छन् । अहिले विश्वका हजारौँ प्रयोगशाला कोभिड–१९ प्रतिरोधी खोप बनाउन व्यस्त छन् । ती खोप जनावर तथा मान्छेमा प्रयोग भइरहेको छ । प्रमाणित खोप बजारमा उपलब्ध भएपछि कोरोना सङ्क्रमणबाट विश्वले मुक्ति पाउने विश्वास गरिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot