Logo

सत्तामा हलचल, ओलीको धम्की कि दल फुटाउने रणनीति ?



काठमाडौं, ८ वैशाख । देश लकडाउनमा हुँदा सरकारले दुईवटा अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेको केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन् । निकै हतारमा मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रपति समक्ष सिफारिश गरेको अध्यादेशले सत्तामै हलचल आएको स्पष्ट भएको छ ।

अध्यादेशमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ छ । जसलाई आज नै राष्ट्रपति विद्यादेवीले प्रमाणिकरण गरेकी छिन् । यति छिटो गम्भीर प्रकृतिको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु रहस्यम बनेको छ ।

राजनीतिक वृत्तमा समाजवादी पार्टी विभाजन गर्न यस्तो अध्यादेश ल्याइएको हुनसक्ने चर्चा नचलेको होइन । समाजवादी पार्टीभित्र मोहम्मद इस्तियाक राईसहितको समूहले पार्टी फुटाउन लागेको चर्चा चलेको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशमा एउटा विषय नयाँ छ । जसमा दलमा केन्द्रीय कमिटि वा संसदीय दल जुनसुकैमा ४० प्रतिशत सदस्य पुगेमा पार्टी विभाजन गर्न सकिने प्रावधान छ । तर, यो अध्यादेश ल्याउने सरकारले निर्णय गरेपछि नेकपाको प्रचण्ड समूहलाई झस्काएको छ । विगतमा संसदीय दल र केन्द्रीय कमिटि दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने प्रावधान थियो । अहिले नयाँ अध्यादेश प्रमाणिकरणलाई ओलीले दिएको धम्की हुनसक्ने विश्लेषण नभएको होइन ।

नेपाल कम्युनिस्ट पार्टीभित्र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न कोणबाट प्रयास भइरहेका छन् । उनले यस्तो अवस्थामा पार्टी नै फुटाउन सक्ने धम्की दिन यस्तो गरेका त होइनन् ? यो प्रश्न उठेको छ ।

पछिल्लो समय ओलीले सेनालाई निकै फकाइरहेको टिप्पणी नभएको होइन । उनले सेनालाई औषधी खरिदको जिम्मेवारी दिने निर्णय देखि फाष्ट ट्रयाकको परामर्शदाता छनोटमा समेत साथ दिए । यसलाई ओलीको सेनाको पूर्ण साथ लिने कदम मानिएको छ ।

देशमा कोरोना महामारी चलिरहँदा सरकारले ल्याएको अध्यादेश ल्याउन गरेको निर्णयलाई नेपाली काँग्रेसले बेमौसमको बाजा भनिसकेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमको बाजा भनिसकेका छन् ।

जुन नियतले ध्यादेश ल्याएको भएपनि यसले राजनीतिक तरंग नै ल्याएको छ । यसले भविष्यमा राजनीतिक दल विभाजनलाई सजिलो पारिदिएको छ । सत्तारुढ दलभित्र समेत यसले नयाँ संकट ल्याउन सक्ने अवस्था सृजना गरेको छ । दलहरु फुट्ने सम्भावना कमै रहेकोमा अब त्यस्तो अवस्थामा परिवर्तन आएको छ । यसलाई ओलीले आफूविरुद्ध एकतृत भएको इतर समूहलाई धम्कीको रुपमा पनि लिइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot