Logo

बनाएनन् सबै वडाले क्वारेन्टाइन



काठमाडौँ, ६ जेठ । भारतसहित विभिन्न देशमा ठूलो सङ्ख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि काम हुनसकेको छैन ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको जिल्ला समन्वय समितिमा भएको समन्वय बैठकमा दिइएको जानकारीअनुसार माडी नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहले आवश्यक सङ्ख्यामा क्वारेन्टाइन बनाएका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सात स्थानीय तहका ९८ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने सहमति भएको थियो ।

समितिको बैठकमा दिइएको जानकारीअनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये सात वडाले मात्र क्वारेन्टाइनको व्यवस्था गरेका छन् । महानगरको वडा नं ६, ९, १०, १६, २६, २७ र २८ मा क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने अन्य वडाहरुमा व्यवस्था गरिएको छैन । ती वडामा पनि क्वारेन्टाइन निर्माणका लागि काम अघि बढेको महानगरले जनाएको छ ।

रत्ननगर नगरपालिकाले एक स्थानमा मात्रै क्वारेन्टाइनको व्यवस्था गरेको जनाएको छ । सोह्र वडा रहेको नगरपालिकामा वडा नं १ मा रहेको बकुल्लहर माविमा मात्रै क्वारेन्टाइन स्थापना गरिएको हो । यस्तै कालिका नगरपालिकामा रहेका ११ वडामध्ये तीन वडामा मात्रै क्वारेन्टाइनको व्यवस्था गरिएको छ । कालिका नगरपालिकाले सबै वडालाई मिल्ने गरी व्यवस्थापन गरेको जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot