Logo

विश्वभर १३ हजार नेपाली कोरोना संक्रमित, १ सय १७ को मृत्यु



काठमाडौ, जेठ ११ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको यो साता निधन भएको हो ।
एनआरएन स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएइमा १८ नेपालीको निधन भएको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

यसैगरी साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन, कतार र कुवेतमा एकएक जनाको मृत्यु भएको एनआरएन, कोभिड –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । मृत्यु हुनेमा ९५ पुरुष र १९ महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।त्यस्तै ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ ।



प्रतिक्रिया दिनुहोस्