Logo

लकडाउन खुकुलो पार्ने प्रधानमन्त्रीको संकेत



काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पारिने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्दै गर्दा देशमा आर्थिक गतिविधि पनि शतर्कताको उपाय अपनाएर जारी राखिने बताएका हुन् ।

प्रधानमन्त्रीले कोरोना भाइरसको औषधी पत्ता नलागेको भन्दै अब रोकथामको वैकल्पिक उपायसहित आर्थिक र सामाजिक गतिविधिको उपाय अपनाइने बताएका हुन् । ‘कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उद्दोगलाई सञ्चालनको अनुमति दिइनेछ, उत्पादन गर्न दिने र बजारसम्म पुग्न अवरोध नहुने गरी प्रबन्ध मिलाइनेछ ।’ उनले तोकिएको प्रोटोकल हेरेर उद्दोग सञ्चालन गर्न दिने समेत बताए ।

कोरोना महामारीका बीच पनि अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरवका आयोजना लगायत कतिपय विकास आयोजनालाई अगाडि बढाउने प्रयास र प्रयोग सफल भएको बताए । कोरोनालाई छल्दै विकासका काम अगाडि बढाउन सकिन्छ भन्ने पुष्टि भएको उल्लेख गर्दै अब नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगहरुलाई सञ्चालनको अनुमति दिइने बताएका हुन् ।

उनले भने, ‘काममा आउने आफ्ना श्रमिकलाई समुदायमा छ्यासमिस नहुने प्रबन्ध गर्ने सर्तमा जुन-जुन जिल्लाका श्रमिक हुन्, तिनीहरुलाई पहिले कोरोना परीक्षण गरी प्रशासनको निगरानीमा उद्योग-व्यवसाय सञ्चालन हुने स्थानमा ल्याउने प्रबन्ध मिलाइनेछ ।’ यसको प्रभावकारिताको आधारमा क्रमशः थप व्यवसाय सञ्चालनको प्रक्रिया अघि बढाइने बताए ।

दैनिक आवश्यक वस्तुहरुको आपूर्ति सहज तुल्याउने र आन्तरिक उत्पादन बृद्धिका लागि कच्चा पदार्थदेखि उत्पादित वस्तुको बजारसम्मको शृङ्खला अवरुद्ध हुन नदिइने बताए । आवश्यक वस्तुहरुको आन्तरिक ढुवानी र आयात/निर्यात सहज बनाइने प्रधानमन्त्रीले जानकारी दिए ।

उनले भने, ‘खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाइनेछ । समुदायमा संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्नेगरी प्रशासनिक कडाईलाई भने कायमै राखिनेछ ।’

उनले राष्ट्रिय गौरवको आयोजनालाई समेत अगाडि बढाइने बताए । विभिन्न आयोजनाहरुको काम जारी रहेको भन्दै त्यसको अनुभवबाट पनि विकास निर्माणका कामहरु गरिने बताए ।

प्रधानमन्त्रीले शैक्षिक संस्थाको पनि दुरशिक्षा र अनलाइन शिक्षाबाट सञ्चालन गरिने व्यवस्था मिलाइने बताए । विद्यार्थीहरुको शैक्षिक सत्र खेर जान नदिने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot