Logo

स्थानीय तहमा भूमि बैङ्क



काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षमा ३०० स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्ने भएको छ । बिहीबार सार्वजनिक बजेट मार्फत बाझो जमिन भएका स्थानीय तहमा भूमि बैङ्कको सुरुवात गर्ने बताइएको हो ।

भूमि बैङ्क कार्यक्रममा सेयर लगानीको व्यवस्था गर्ने बजेटमा उल्लेख गरिएको छ । यस आर्थिक वर्षमा सरकारले आगामी वर्षका लागि प्रदेश र स्थानीय तहलाई गरी एक खर्ब ४५ अर्ब २४ करोड रुपियाँ समान रूपले अनुदान दिने घोषणा गरेको छ । प्रदेश सरकारलाई ५५ अर्ब १९ करोड र स्थानीय तहलाई ९० अर्ब पाँच करोड रुपियाँ समान रूपमा अनुदान प्रदान गर्ने बजेटमार्फत घोषणा गरिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सरकारले प्रदेश र स्थानीय तहलाई आगामी वर्षमा सो रकम प्रदान गर्न लागेको हो । बजेटमा अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड, स्थानीय तहलाई एक खर्ब ६१ अर्ब आठ करोड दिइने घोषणा गरिएको छ । राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहलाई कुल एक खर्ब २२ अर्ब १४ करोड, समपूरक अनुदानमा प्रदेश र स्थानीय तहलाई नौ अर्ब ९६ करोड छ ।

प्रदेश वा स्थानीय तहलाई विशिष्ट प्रकृतिको काम गर्न विशेष अनुदान शीर्षकमा नौ अर्ब ९७ करोड प्रदान गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । सबै स्थानीय तहको भूउपयोग नक्सा बनाउने, ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने, सबै स्थानीय तहमा बजार पूर्वाधार बनाउने, कृषि अनुदान पुनरावलोकन गरी सङ्घ, प्रदेश र स्थानीय तहबाट दोहोरो नपर्ने गरी किसानलाई अनुदान दिइनेछ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot