Logo

विकास र समाजसेवामा सधै समर्पित राधा मरासिनी



बुटवल, २६ जेठ । बुटवलको बेलबास विजयटोलकी राधा मरासिनी समाज सेवामा सधै सक्रिय भइरहने महिला हुन् । घरभित्र र घरबाहिर दुवैतर्फ उनको सक्रिय सहभागिता रहँदै आएको छ । त्यसैले उनी पूर्वाधार निर्माण, महिला सशक्तिकरण देखि जनचेतनाका कार्यक्रम सम्ममा नेतृत्वदायी भुमिका निभाउँदै आएकी छिन् ।

राधाको जन्मथलो अर्घाखाँची भएपनि २०६५ सालयता बुटबलमा बसोबास गर्दै आएकी छिन् । उनीसँग २०५४ सालमा वडा सदस्य निर्वाचित भई काम गरेको अनुभव पनि छ । त्यसैले बुटवल झरेपछि पनि उनी सामाजिक काममा निकै खटिन्छिन् ।

राधाको पहलमा आमा समुह गठन भयो । उनले त्यसको अध्यक्षका रुपमा भुमिका निभाइन् । सबैको प्रीय बन्ने कामहरु गरिन् । महिलाको समस्या समाधानमा अगाडि उभिइन् । उनको नेतृत्वको आमा समुहले विजयटोलमा जाँडरक्सी जुवातासलाई बन्देज नै लगाइदियो ।

उनको पहलमा बेलासको विजयटोल क्षेत्रमा काजकृया गर्दा बस्ने भवन निर्माण भयो । स्थानीय सडक निर्माण, खानेपानी, मठमन्दिर निर्माण जस्ता कार्यलाई सफल बनाउन उनको नेतृत्वदायी भुमिका रह्यो । त्यसैले बुटवल बसोबास गर्न थालेको केही वर्षमै उनी सबैको प्रीय बनिन् ।

सामान्य लेखपढ मात्र जानेकी भएपनि उनले अर्घाखाँची होस् या बुटवलको विजयटोल बस्दा नै कि नहोस् भौतिक र सामाजिक विकासमा निभाएको भुमिकाको प्रशंशा हुनेगरेको छ । विशेषगरी महिला सशक्तिकरणमा उनी अग्रपंक्तिमा उभिएर काम गर्दै आएकी छिन् ।

समाज सेवा गर्दा आनन्दको अनुभुती हुने बताउँछिन् राधा मरासिनी । उनी भन्छिन्, ‘सेवा नै धर्म हो ।’ घर मात्र बनाएर नहुने गाउँटोल पनि विकास गर्न सके सुखशान्ति प्राप्त हुनसक्ने उनको भनाई छ । आफू सधै नगर र टोलको सेवामा समर्पित भइरहने बताउँछिन् राधा ।



प्रतिक्रिया दिनुहोस्