Logo

कोभिड नाइन्टिनका बिरामी व्यवस्थापन गर्न कठिन भयो : स्वास्थ्य मन्त्रालय



असार १, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थालाई कोभिड नाइन्टिनका विरामी व्यवस्थापन गर्न विभिन्न प्राविधिक कठिनाई उत्पन्न भएको जनाएको छ । एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा समन्वय गर्न निकै कठीन भएको मन्त्रालयले जनाएको हो । समस्या समाधानका लागि एउटा चिकित्सकीय समिति बनाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

२४ सै घण्टा उपलब्ध हुने गरी वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधवप्रसाद लम्सालको संयोजकत्वमा समिति गठन गरिएको गौतमले जानकारी दिए । अबका दिनमा स्वास्थ्यकर्मीलाई समस्या भए ९८५१२५५८३९ मोबाइल नम्बरमा सम्पर्क गरी सहयोग लिन सुझाब दिएका छन् ।

सोमबारको पत्रकार सम्मेलनमा गौतमले कोभिड नाइन्टिनको उपचारका लागि अहिलेसम्म कुनै औषधि पत्ता नलागेको तर नेपालमा विभिन्न गलत र भ्रामक प्रचार गरिएकोमा त्यसलाई विश्वास नगर्न सुझाब दिएका छन् ।

अहिले देशभरका २२ वटा प्रयोगशालामा कोरोना भाइरस परिक्षण भइरहेको छ । अहिलेसम्म कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । त्यसैगरी कूल संक्रमित ६ हजार २ सय ११ जनामध्ये अहिलेसम्म १ हजार १९ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ७ जना महिला र ६० जना पुरुष गरी ६७ जना डिस्चार्ज भएमा हुन् ।

कूल डिस्चार्ज भएकामध्ये ९ सय ३७ जना पुरुष र १ सय ४ जना महिला रहेका छन् । नेपालको ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म कूल ३ लाख १५ हजार ३ सय ४० वटा कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ६ सय ८३ वटा पिसीआर परीक्षण र २ लाख १९ हजार ३ सय ३६ आरडीटी टेस्ट सम्पन्न भएको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ८ हजार ६ सय १५ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा २६ हजार ६ सय ९ वटा परीक्षण भएको छ । यो संख्या अघिल्ला दिनको तुलनामा थोरै हो । अहिले देशभरका क्वारेन्टिनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot