Logo

नेकपाको फुट जोगाउँदै ओलीको सत्ता अवतरणमा विरोधी समुह, ओलीको आक्रामक रणनीति



काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा सत्ता र अध्यक्ष पद नछाड्ने स्पष्ट सन्देश दिएका छन् । पार्टीभित्र बहुमत स्थायी कमिटी सदस्यहरुले राजीनामा मागेपनि ओली डगमगाएका छैनन् । उनले सत्ता छाड्नुको साटो विभिन्न विकल्पहरुसहित आफूलाई तयार बनाएका छन् ।

ओलीले आज विहानै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी परामर्श गरे । उनले संसदको बजेट अधिवेशन अन्त्य गर्नेबारे छलफल गरे । लगत्तै मन्त्रिपरिषद् बैठक डाकी सिफारिशको निर्णय गरे । लगत्तै राष्ट्रपतिले अधिवेशन अन्त्यको घोषणा गरिन् ।

ओलीको यो निर्णय राजनीतिक दलसम्बन्धी अधिवेशन ल्याउने तयारीका रुपमा लिइएको छ । संसद चल्दा अध्यादेश ल्याउन पाइँदैन । उनले दल फुटाउन सजिलो बनाउने गरी अध्यादेश ल्याउन लागेको आशंका बढेको छ ।

नेकपाको बहुमत स्थायी कमिटी सदस्यले ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने निर्णय गर्दै गर्दा यो घटना विकास भएको छ । भोलि एक दिन आवश्यक छलफलको समय राखेर शनिबार स्थायी कमिटी डाकिएको छ । अब दुई दिन समय राखेर भएपनि दुर्घटना टार्ने प्रयास भएको छ । ओली नेकपा ब्युँताउन ठिक्क परेर बसेको बुझिएको छ । यसलाई रोक्न उनका विरोधी समुह लागिपरेका छन् ।

ओलीलाई सत्ताबाट अवतरण गराउने र पार्टी पनि फुट्न नदिने गरी अध्यक्ष प्रचण्ड संयमतापूर्वक बढ्न खोजेका छन् । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम पनि पार्टी फुट्न नदिने गरी कदम चाल्ने पक्षमा छन् । तर, ओली कुनै हालतमा सत्ता नछाड्ने अडानमा छन् । उनी बरु पार्टी बिघटन थेग्ने तयारीमा छन् । विगतमा नेकपा एमाले विभाजनको समेत जिम्मेवार ठहराइएकामध्ये ओली पनि हुन् । त्यसैले उनले आफूले विगतमा पनि यस्तो भोगिसकेको निकटस्थलाई सुनाइसकेका छन् । ओली आक्रामक रणनीतिका साथ प्रस्तुत भएबाट नेकपामा दुर्घटना टर्न कठिन भएको देखिन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot