Logo

काठमाडौँमा कोरोना सङ्क्रमण बढ्दो, हटस्पट बन्ने खतरा



काठमाडौँ, २० असार । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा जानुभयो । घरबाट कहीँकतै नगएकी उहाँमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टि हुन्छ । उपत्यकामा यसरी स्थानीयमा देखिन थालेको करिब एक हप्ता मात्रै भएको जनाइएको छ ।

कसरी आफूमा देखियो भनेर सङ्क्रमित व्यक्तिले पनि अनुमान लगाउन सकेका छैनन् । परिवारमा नदेखिँदा उहाँमा कसरी भयो भन्ने खोज्न अहिले स्वास्थ्य मन्त्रालयको एक समूह लागेको छ । परिवारमा पनि सङ्क्रमण नभएको, विदेश पनि नगएको, विदेश गएका व्यक्तिको सम्पर्कमा पनि नपुगेको व्यक्तिमा सङ्क्रमण देखिनुले अब उपत्यका थप जोखिममा छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

“पछिल्लो एक हप्तामा उपत्यकामा त्यस्ता केसहरु देखिन थाले, कहीँ पनि नगएको व्यक्तिमा कोरोना सङ्क्रमण देखियो, हामी कन्ट्रयाक ट्र्ेसिङ गरिरहेका छौँ”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भन्नुभयो, “यस्तो कसरी भयो भन्ने यकिन गर्दैछौँ ।” “त्यस्ता व्यक्तिमा कि कुनै अस्पतालमा जँचाउन जाँदा स¥यो कि तरकारी वा केही चिज किन्न जाँदा हुनसक्छ या त भीडभाडमा पुग्दा सङ्क्रमण भएको हो”, डा गौतमले अनुमान गर्दै भन्नुभयो ।

भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ । विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो । थप सतर्कता नअपनाए उपत्यकामा सङ्क्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।

सरकारले उपत्यका प्रवेशमा कडाइ गरे पनि लुकीलुकी भित्रिने क्रम रोकिएको छैन । त्यहाँबाट पनि सङ्क्रमित व्यक्ति प्रवेश गर्ने सम्भावना छ । नाकामा अझै कडाइ आवश्यक रहेको र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न जरुरी रहेको नेपाल चिकत्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्कीले भन्नुभयो । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्