Logo

परीक्षण घटाइँदै, जोखिम झन् बढ्दै



काठमाडौं, २४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ ।

पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको दर भने दिन प्रतिदिन घट्दै गएको छ । गत बुधबार ४ हजार ८ सय ६, बिहीबार ४ हजार ५ सय ३७, शुक्रबार ४ हजार ४ सय ८३, शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण गरीएको थियो । यस्तै, गत आइतबार ४ हजार ७ सय १०, सोमबार ४ हजार ७ सय २१ र हिजो मंगलबार ६ हजार १ सय ३३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो १५ दिनको अवधिमा ६ हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको छ । गत ९ असारमा १० हजार ९९ जनामा कोरोना पोजेटिभ देखिएकामा मंगलबार संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको हो ।

मुख्यतः लकडाउन खुकुलो हुनु, पिसिआर परीक्षण नै नभई रेस्क्यु फ्लाइटमार्फत विभिन्न देशबाट नेपाल भित्रिनुलगायतका कारण पनि जोखिम बढेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेका अनुसार संक्रमितमध्ये ९९ प्रतिशत लक्षणविहीन छन् । उनले भने, ‘केही नागरिक विदेशबाट रेस्क्यु फ्लाइटमार्फत आउँदा पिसिआर टेस्ट नै नगरी आउने गरेको पाइयो । लकडाउन खुकुलो हुँदै जाँदा पनि जोखिम बढेको हो ।’ यो खबर आजको राजधानी दैनिकले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot