Logo

रुकुम पूर्वमा फेरी सलह देखियो, मकैबालीमा क्षति



दाङ, २७ असार। रुकुम पूर्वमा सलह किराको आतङ्क देखिएको छ । एक लाख ५० हजारको सङ्ख्यामा प्यूठान हुँदै रुकुम पूर्व प्रवेश गरेको सलह कीराको झुण्डले मकै बाली नष्ट गरेको कृषि ज्ञान केन्द्र रोल्पाले जनाएको छ ।
गत असार १६ गते जिल्लाको भूमे गाउँपालिकामा देखा परेको सलहले जिल्लाभर नै क्षति पुर्याएको भन्दै कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख नरेश धितालले क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । ‘दाङबाट प्यूठान र रोल्पा हुँदै एक लाख ५० हजारको सङ्ख्यामा रुकुम पूर्व प्रवेश गरेको सलहको झुण्डले मकै बालीमा क्षति पुर्याएको जानकारी आएको छ’, धितालले जानकारी भन्नुभयो, ‘जिल्लाको भूमे गाउँपालिकाको वडानम्वर–२ को दहबाङ, गाबाङ, खाबाङ, वडानम्वर–१ को लुकुम, वडानम्वर–६ को तमारी, वडानम्वर–७ को गुनाम, ८ को कुचिबाङ, वडानम्वर–९ को चुनबाङमा मकै तथा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ ।’

तर यो समूह केही पहिले नेपाल प्रवेश गरेको समूह नै पुनः सक्रिय भएको हो वा भारतबाट नयाँ आएको भन्ने स्पष्ट भएन । यसबारे काठमाडौँको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

त्यसैगरी पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं। ९ को खाराबाङमा पनि सलहले माकैबाली सखाप पारेको स्थानीय रवीन्द्र ओलीले बताउनुभयो । सलह कीराले मकै बालीमा क्षति पुर्याएपछि भोकमरीले सताउँछ कि भनेर स्थानीय चिन्तित बनेको ओलीले बताउनुभयो । त्यस्तै सलह कीराले सिस्ने गाउँपालिकाको विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं। ३ बाट मकैबालीमा क्षति गर्न सुरु गरेको सलहले सबै वडामा व्यापक रुपमा क्षति पुर्याउन थालेको गाउँपालिकाका अध्यक्ष कुमारी बराल गौतमले जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot