Logo

अवरुद्व सडक एक/दुईदिनभित्रै सुचारु हुन्छ : गौतम



प्रवक्ता (राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण)

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले एक दुईदिनभित्रै देशभरिका अवरुद्ध सडक सुचारु हुने स्पष्ट पारेका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले यस्तो बताएका हुन् । उनले आफूहरु विपद् व्यवस्थापनमा नचुकेको स्पष्ट पारेका छन् । उनले भने,‘हामी चुकेको भन्दापनि यो विपद् व्यवस्थापनमा स्थानीय सरकारदेखि संघीय सरकार सबै परिचालित हुनुपर्ने हुन्छ । खानै नपाएको समस्याका गुनासोहरू हामीकहाँ आएको छैन । स्थानीय, प्रादेशिक सरकार, जिल्ला विपद् समिति र विषयगत क्षेत्रहरू परिचालित भएको छ । खाद्यान्नको सन्दर्भमा खाद्य क्लस्टर भन्ने हुन्छ, त्यो क्लस्टरले जहाँ–जहाँ समस्या छ, त्यहाँ/त्यहाँ राज्य चुप लागेर बसेको अवस्था छैन । मिडियाकर्मीको पनि अहम् भूमिका छ । तपाईहरूले जनतालाई सचेत गराइराख्नुभएको छ । पछिल्लो समय मानवीय र भौतिक क्षति कम गर्न हामी सफल भएका छौँ ।’ प्रस्तुत छ गौतमसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

के छ देशभरिको हालखबर ? जनता कहाँ कहाँ जोखिममा छन् ? कहाँ/कहाँ जनता समस्यामा छन् ? बाढीपहिरोको पीडा जनताले भोगिरहेका छन् । कुन–कुन सडक अवरुद्ध छ ?

जेठ ३० बाट मनसुन नेपालमा प्रवेश गरिसकेपछि पहिरोको कारणले गर्दा करिब करिब १२० जनाको ज्यान गइसकेको छ । पैतालीस/छयालीसभन्दा बढी बेपत्ता भएको अवस्था छ भने बाढीबाट ३ जनाको मृत्यु र पाँच छ जना बेपत्ता भएको स्थिति छ । लगातारको वर्षाका कारणले गर्दा देशका विभिन्न भागका सडकहरू अवरुद्ध भएको अवस्था छ । हिजोबाट सडकहरू एकतर्फी खुलाइएको छ । मुग्लिनदेखि नारायणगढ सडक एकतर्फी सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गमा ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएकोे विशेषगरी मौवा खोला बिग्रेको कारणले गर्दाखेरि त्यहाँबाट आवागमन बन्द भएको अवस्था छ । पृथ्वी राजमार्गको बेनीघाट भन्ने ठाउँमा माथिबाट पहिरो आएको हुनाले बाटो अवरुद्ध छ । रसुवा पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध छ । वी.पी. मार्ग हिजो बिहानसम्म अवरुद्ध थियो भने दिउँसो एकतर्फी सञ्चालनमा आएको छ । मध्यपहाडी लोकमार्ग पनि सञ्चालनमा आएको अवस्था छ भने बेनीदेखि जोमसोङ अवरुद्ध हुन आएको छ । सिद्धार्थ राजमार्ग पनि ठाउँठाउँमा पहिरोको कारणले रोकिएकोमा हिजो एकतर्फी सुचारु गर्न सफल भएको छ । त्यसैगरी धनकुटादेखि भोजपुर पनि एकतर्फी सुचारु भएको अवस्था छ ।

उद्धार गर्न सकिएको छैन, राहत वितरण गर्न सकिएको छैन । तपाईहरू कहाँ चुक्नुभयो त ?

हामी चुकेको भन्दापनि यो विपद् व्यवस्थापनमा स्थानीय सरकारदेखि संघीय सरकार सबै परिचालित हुनुपर्ने हुन्छ । खानै नपाएको समस्याका गुनासोहरू हामीकहाँ आएको छैन । स्थानीय, प्रादेशिक सरकार, जिल्ला विपद् समिति र विषयगत क्षेत्रहरू परिचालित भएको छ । खाद्यान्नको सन्दर्भमा खाद्य क्लस्टर भन्ने हुन्छ, त्यो क्लस्टरले जहाँ–जहाँ समस्या छ, त्यहाँ÷त्यहाँ राज्य चुप लागेर बसेको अवस्था छैन । मिडियाकर्मीको पनि अहम् भूमिका छ । तपाईहरूले जनतालाई सचेत गराइराख्नुभएको छ । पछिल्लो समय मानवीय र भौतिक क्षति कम गर्न हामी सफल भएका छौँ ।

बस्तीमा पस्यो कन्काई । १००० विघा डुबानमा । झापाको कुरा गर्दैछु म ? के भन्नुहुन्छ ?

बाढीले गर्दा विभिन्न ठाउँमा डुबान परेको छ । कहीँ पहिरोले गर्दा बिस्थापित भएको सूचना हामीलाई प्राप्त भएको छ । स्थानीय सरकार यसमा लागेको छ किनभने नजिकको सरकार स्थानीय सरकार हो । विपद् सुरक्षा निकायहरू परिचालित भएको अवस्था छ । आफ्नो घरमा बस्नै नसक्ने भएकाहरूलाई विद्यालय हुन्छ कि, सामुदायिक भवन हुन्छ कि अस्थायी सेल्टर बनाएर राख्ने काम राज्यको तर्फबाट पनि र विभिन्न संघसंस्था, निजी तवरबाट पनि यसमा क्रियाशील भएको कारणले गर्दा त्यस्तो भयावह अवस्था छैन । तल्लो सरकारले सम्बोधन गर्न नसकेको अवस्थामा संघीय सरकार पनि त्यस ठाउँमा सहयोग गर्न तम्तयार भएर बसेको अवस्था छ ।

तथ्यांकको कुरा गर्दा मृत्यु भएकाको संख्या कति पुग्यो, बाढीपहिरोबाट ?

मनसुन सुरु भएदेखि जेठ ३० बाट हिजोसम्म पहिरोको कारणले १२० जनाको ज्यान गएको छ । ४६ भन्दा बढी बेपत्ता भएको अवस्था छ । बेपत्ता भएको पनि प्राप्त गर्न गा¥हो छ । विशेषगरी सिन्धुपाल्चोक र संखुवासभामा ठुलो संख्यामा बेपत्ता भएको छ । धेरै ठुलो पहिरो आएर धेरै तल नदीमा नै पु¥याएको अवस्था पनि हुन सक्छ । खोजीकार्य जारी हुँदाहुँदै पनि फेला पार्न नसकेको अवस्था छ । यसपालि पहिलाको वर्षमा भन्दा मानवीय क्षति कम भएको अवस्था छ । बाढीबाट ३ जनाको मृत्यु र अहिलेसम्म ५ जना बेपत्ता भएको अवस्था छ । ३८४ घरहरू बिस्थापित भएको प्रारम्भिक आँकडा हामीलाई प्राप्त भएको छ । गत वर्षको तुलनामा यसपालि पहिरोबाट धेरै क्षति भएको छ । ्

आजसम्मको अवस्थालाई हेर्दाखेरि वर्षा कम हुन थाल्यो ?

भर्खर मैले जल तथा मौसम विभागमा सम्पर्क गरेको थिएँ । आपत्कालिन कार्यसञ्चालन केन्द्रमा पनि सम्पर्क गर्दा राति धेरै ठाउँमा पानी नपरेको कुराको जानकारी उहाँहरूले मलाई बताउनुभएको थियो । हामीले आजसम्म पनि पानी पर्ने पूर्वानुमान गरेका थियौँ र काठमाडौँमा पनि हिजो रातिदेखि पानी नपरेको अवस्था छ । पानी कम परेमा बाटो अवरुद्ध भएको पनि छिट्टै खुलाउने काम हुन्छ र अन्य व्यवस्थापन गर्न पनि हामीलाई सहज हुन्छ ।

हाम्रो देशमा विपद् न्युनीकरण गर्नको लागि तपाईहरूले चाल्नुपर्ने कदम के–के छन ?
विशेष गरेर अहिले मनसुनको संघारमा भएको कारणले गर्दा यसलाई प्रतिकार गर्ने काममा नै जुट्नुपर्ने हुन्छ । प्रदेश सरकारदेखि स्थानीय सरकार संयुक्त रूपमा परिचालित हुनुपर्ने अवस्था छ भने अब हामीले यो प्रत्येक वर्ष दोहोरिने नियती जुन छ, यसलाई हामीले न्यूनीकरण गर्नको लागि एकीकृत बस्ती विकास गरेर हुन्छ कि जोखिमपूर्ण बस्तीलाई स्थानान्तरण गरेर हुन्छ कि, हामी गर्दैछौँ । अहिले जथाभावी र इन्जिनियरिङ प्वाइन्ट अफ भ्युलाई ध्यानमा नराखी, वातावरणमा ध्यान नदिईकन सडक बनाउने काममा हामीले निश्चित् रूपमा ध्यान दिनुपर्छ । मानवसिर्जित कामहरूले गर्दा नै मानवीय र भौतिक क्षति भएको अवस्था छ । प्राकृतिक प्रकोप त तपार्इं, हामी कसैले पनि रोक्न सक्दैनौँ । वर्षात्, भूकम्प रोक्न सक्दैनौँ तर मानवले गर्दा मानवीय क्षति प्रत्येक वर्ष दोहोरिदैँ गएको छ, यसलाई न्यूनीकरण गर्नका लागि जुन÷जुन क्षेत्रका जुन भूमिका छ, त्यसलाई सबैले निर्वाह गर्नुपर्छ ।

राजमार्गहरू ९८ ठाउँमा अवरुद्ध भएको छ । यी सबै सडकहरू कहिलेबाट सुचारु हुन्छ ?

हामीले हिजो सडक विभागको उपमहानिर्देशकसँग अवरुद्ध भएका सडक सूचारुबारे छलफल गर्दा नेपालको राजधानीभित्र प्रवेश गर्ने पृथ्वी राजमार्गमा मौवा खोला लाइफलाइन नै भएको कारणले एक/दुई दिनभित्र पानी रोकियो भने हामीले पहुँच सडक बनाएर सडकहरू सुचारु गर्नसक्छौँ र देशका विभिन्न भागमा पानी रोकिएर माथिबाट पहिरो खस्ने अवस्था रोकियो भने एक÷दुई दिनभित्र डोजर र स्क्याभेटर प्रयोग गरेर हामी सडक सुचारु गर्नेछौँ । भित्री सडकको सन्दर्भमा स्थानीय तहको पहलले सुचारु गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्