Logo

पोखरामा शुरु भयो होम क्वारेन्टाइनः कतै विरोध, कतै समर्थन



पोखरा, २९ साउन । आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका पोखरा एउटा वडा कार्यालयमा कार्यरत एक कर्मचारीलाई उनको परिवारले घरमै राखेर उपचार गर्न पाउनुपर्ने निवेदन गरे ।
प्रदेश कोरोना उपचार केन्द्र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको ४० शय्या भरिएको र ति सङ्क्रमितको स्वास्थ्य पृष्ठभूमि उति जोखिमपूर्ण पनि नभएकोले अस्पतालले घरमै उपचार तथा सुरक्षित साथ रहन अनुमति दियो ।

अहिले उहाँ पोखरा(२६ स्थित आफ्नै घरमा उपचाररत हुनुहुन्छ । उहाँका परिवार खुशी छन् तर त्यही वडाका कतिपय बासिन्दाले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाइरहेका छन् । अहिले ती कर्मचारीसँगै काम गर्ने अन्य कर्मचारी र केही छिमेकीको स्वाब सङ्कलन कार्य जारी छ । उनीहरू भने आफू वा आफ्ना परिवारलाई सङ्क्रमण देखिएको खण्डमा उहाँ जसरी नै घरमै बसेर उपचार गर्न पाउनुपर्ने शर्त राखिरहेका छन ।

“घरमा परिवारको साथ हुन्छ, बिरामीको मनोबल पनि बलियो हुन्छ । त्यसैले छिटो निको हुन्छु झैँ लाग्छ” पोखरा वडा नं २७ तालचोकका नवराज सापकोटाले भन्नुभयो । अस्पतालमा राख्दा बिरामीका कुरुवाले पनि असुरक्षित महसुस गर्नसक्ने अनुमान लगाउनुभयो उहाँले ।

बुढीबजारको घटना उदाहरण हो । अहिले पोखरामा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा छ । यहाँका सङ्क्रमितका परिवार, टोल तथा समाजमा यस्ता घटना देखिन थालेका छन् । अस्पतालको आइसोलेसन बेडमा आफ्ना बिरामीको रेखदेख गर्न असुरक्षित महसुस भएको र घरमै राख्न पाउनुपर्ने भन्दै सङ्क्रमितका परिवार स्वयमले माग गर्न थालेपछि, सुरक्षाका निश्चित मापदण्ड बनाएर केही सङ्क्रमितलाई घरमा बस्न दिइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

घर परिवार र समुदायको सुरक्षालाई विचार गरी गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सङ्क्रमितहरू अस्पतालनै भर्ना हुनुपर्ने नियम बनाएको थियो । तर सङ्क्रमित स्वयम् र उनका परिवारले असुरक्षित महसुस गरेको भन्दै केही दिनदेखि विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्ने नगर्ने सम्भावना यकिन गरेर मात्र प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्क्रमितलाई घरमै पनि बस्न मिल्ने अनुमति दिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन नवराज शर्माका अनुसार, गण्डकी प्रदेशको राजधानी पोखरामा मात्र अहिले करिब १० जना सङ्क्रमित होम क्वारेन्टाइनमा बसिरहेका छन् । यसमध्ये छ जना होम क्वारेन्टाइनबाटै निको भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सम्पर्क व्यक्तिको खोजीबाट सङ्क्रमण पत्ता लागेकालाई उनीहरूका परिवारको आग्रहमा अन्य मानिसको सुरक्षा यकिन गरेर घरमै बस्न दिइएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot