Logo

शिवम् सिमेन्ट्समा कोरोनाको प्रभाव, बिक्री आम्दानीसँगै घट्यो नाफा



काठमाडौँ ३१ साउन: शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानीसँगै खुद नाफा पनि घटेको छ।

गत आवको मसान्तसम्ममा कम्पनीले १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४५ करोड ६२ लाख रुपैयाँ कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विश्वभर फैलिएको कोरोनाको प्रभाव र नेपाल सरकारले सोही कारण लामो समय लकडाउन घोषणा गरेका कारण अन्य व्यवसाय जस्तै यस कम्पनीले पनि उत्पादन र बिक्री वितरणको लक्ष्य हासिल गर्न कठिनाई भएको जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ११ अर्ब ३४ करोड ५१ लाख रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा सीमित भएको छ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब २३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। कम्पनीको शेयर प्रिमियम ९४ करोड २ लाख रुपैयाँ छ।

चुक्ता पूँजी स्थिर रहेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा घटेपछि कम्पनीको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३४ रुपैयाँ ४२ पैसा रहेको कम्पनीको यस्तो आम्दानी गत आवको सोही अवधिमा घटेर २४ रुपैयाँ ६ पैसामा सीमित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ४३ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात २४.८५ गुणा कायम भएको छ।-मेरोलागानीबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot