Logo

लक्षण भएकालाई अस्पतालमा र नभएकाहरुलाई आईसोलेसन सेन्टरमा राख्ने हाम्रो रणनीति छ : डा. कार्की



स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले सरकारले अस्पतालका क्षमता वृद्धि गर्नेदेखि अहिले लक्षण भएका व्यक्तिहरूलाई अस्पतालमा राख्ने र लक्षण नभएका व्यक्तिहरूलाई आइसोलेसन सेन्टरमा राख्ने आफूहरुको रणनीति रहेको सुनाए । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. कार्कीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

क्याबिनेटले हिजो धेरै निर्णयहरू गरेको छ । धेरै निर्णयहरूमा के के पर्दछन् ?

अधिकांश निर्णयहरू अहिलेको कोभिड नियन्त्रण सम्बन्धि निर्णयहरू छन् । आधिकारीक रूपमा मन्त्रिपरिषदको निर्णय सरकारको प्रवक्ताले बोल्नु नै हुनेछ । संक्रमण हिजो बाहिरबाट आउनेहरूमा धेरै थियो । त्यही अनुसारको हामीसँग रणनीतिहरू थियो । क्वारेन्टाइनमा राखिएको मान्छेहरूलाई जाँच गर्ने, त्यसपछि मात्रै घर पठाउने, यो खालको नीति थियो । संक्रमण अब स्थानीयस्तरमा यहाँको स्थानीय व्यक्तिहरूलाई पनि संक्रमण बढ्यो ।

कोरोना संक्रमण त समुदायमा गईसक्यो, रोकथामको लागि सरकारले कस्तो रणनीति बनाएको छ ?

अहिलेको रणनीतिमा अलिकति फरक हुन्छ । पहिलो कुरा त अस्पतालको क्षमतालाई हामीले वृद्धि गर्दैछौँ । हिजो वृद्धि नगरेको होइन । हिजो पनि हामीले निरन्तर वृद्धि गरेकै हौँ । अहिले लक्षण भएका व्यक्तिहरूलाई अस्पतालमा राख्ने र लक्षण नभएका व्यक्तिहरूलाई हामीले आइसोलेसन सेन्टरमा राख्ने भन्ने हाम्रो रणनीति छ । यसलाई हामीले अझै बढी मजबुत बनाउने कुरा हो । काठमाडौँ उपत्यकाको हकमा हामीले आइसोलेसन सेन्टरको लागि स्थानीय सरकारको सहयोगमा धेरै ठाउँमा आइसोलेसन सेन्टरको स्थापना गर्ने, बेडहरूको संख्या ४ देखि ५ हजारसम्म आइसोलेसनको लागि व्यवस्था गर्ने कुरा छँदैछ । अहिले भएकामध्येको प्लस गर्ने र २००० भन्दा बढी विरामीहरूको लागि अहिले कोभिडको लक्षण चिह्न भएका विरामीहरू हुनसक्छन्, अहिले काठमाडौँमा, उहाँहरूको लागि तयारी गर्ने भन्ने कुरा छ । अहिले करिब करिब २२०० भन्दा बढी आइ.सी.यु बेडहरू छन् । १००० भन्दा बढी हाम्रो भेन्टिलेटरको संख्या छ ।

उपचार नपाएर विरामीहरूले जुन किसिमको समस्या भोगिरहेका छन्, सरकार के हेरेर बसेको छ ?

अहिले हाम्रो ध्यान भनेको काठमाडौँ र वीरगञ्जमा संख्याहरू बढी भएको हुनाले त्यहाँ अस्पतालहरूको अलिकति बढी चाप भएको छ तर आइ.सी.युको बेड नै नपाएर एकदमै अभाव भएको छैन । प्राइभेट हस्पिटलहरूले अनिवार्य रूपमा कोभिडका विरामीहरू लिनुपर्छ भन्नुको पछाडिको कारण त्यही हो कि अहिले मान्छेहरूले कोभिडको संख्या हुनेबित्तिकै सरकारी अस्पतालमा पठाउने अनि अरू नन् कोभिड भयो भने प्राइभेट अस्पतालमा भर्ना गर्ने र नाफाको व्यापार गर्न मिलेन । त्यसो हुनाले यो महामारीको बेलामा सबैले सहयोग गर्नुपर्छ भन्ने कुरामा कमसे कम २५ प्रतिशत योगदान गर्नका लागि प्राइभेट अस्पतालहरूलाई भनिएको हो । अब जति संक्रमित हुन्छन्, तिनीहरूलाई हामीले खोज्न पाउँछौँ । यसबाट एक खालको आगो बलिरहेको ठाउँमा आगो निभाउने काम हुन्छ । अर्को कुरा अस्पतालहरूमा डिस्चार्ज गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot