Logo

३७ वर्षीय कर्णेलले नेतृत्व गरेको मालीको सैनिक विद्रोह



एजेन्सी, ७ भाद्र । अफ्रिकी मुलुक मालीमा १८ अगष्टमा सैनिक विद्रोह भयो । त्यहाँका ७५ वर्षीय राष्ट्रपति इब्राहिम बाउबकस केइटाले पदबाट राजीनामा दिन वाध्य हुनुपर्यो । तर, रोचक विषय यो छ कि सैनिक विद्रोहको नेतृत्वकर्ता ३७ वर्षीय कर्णेल हुन् ।

सन् १९८३ मा जन्मिएका असिमी गोइटा मालीको सैनिकको विशेष फौजका कमाण्डर हुन् । उनले संयुक्त राज्य अमेरिकाबाट पनि तालिम लिएका छन् । फ्रान्स र जर्मनीबाट पनि तालिम लिएका गोइटा साहसी सैनिक कमाण्डरको रुपमा मालीमा परिचित थिए ।

सैनिक विद्रोहपछि उनले आफूलाई मालीको सैनिक जुन्टाको प्रमुखका रुपमा परिचय गराएका थिए । उनले तत्कालका लागि मालीको सत्ता हालतमा लिएको घोषणा गरे ।

मालीमा बढ्दो आतंकवादी गतिविधिप्रति उनले असन्तुष्टि जनाउँथे । आतंकवादविरुद्धको लडाईंमा अग्रिम मोर्चामा उभिएर कमाण्ड गरेका थिए । त्यस क्रममा उनको अमेरिका, फ्रान्सलगायतका शक्तिशाली देशसँग नजिकको सम्बन्ध भएको थियो ।

यसअघि मालीको सैनिक विद्रोहपछि सैनिकले त्यहाँका राष्ट्रपति केइटा र प्रधानमन्त्री बोउबोउ सिसेलाई नियन्त्रणमा लिई राजीनामा दिन वाध्य पारेका थिए । सैनिक नियन्त्रणमा परेपछि उनले सरकार र संसद बिघटन गरी राजीनामाको घोषणा गरे । टेलिभिजन मार्फत् केइटाले आफूले पदका लागि रक्तपात नचाहेको बताएका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot