Logo

कँग्रेस आईमा नेतृत्व परिवर्तनको दबाबः अध्यक्षमा राहुल कि प्रियंका ?



एजेन्सी, ७ भाद्र । भारतको विपक्षी दल कँग्रेस आईमा नेतृत्व परिवर्तनको दबाब बढेको छ । २३ जना वरिष्ठ नेताहरुले अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखी पार्टीको तल्लो देखि माथिल्लो निकायसम्म व्यापक हेरफेरको प्रस्ताव लगेका छन् ।

कँग्रेस आईको लामो राजनीति गरेका र विगतमा मन्त्री समेत भइसकेका गुलाम नबि आजाद, आनन्द शर्मा, कपिल सिबल, मनिष तिवारी, शशि थरुर, भुपिन्द्र सिंह हुड्डा, राज बब्बरलगायतले पत्र लेखी सोनियालाई पार्टीमा व्यापक पुर्नगठनको आग्रह गरेका हुन् । कँग्रेस आईको केन्द्रीय कार्यसमितिको बैठक बस्नुपूर्व उनीहरुले यस्तो पत्र लेखेपछि त्यहाँको राजनीतिमा तरंग आएको छ ।

कँग्रेस आईमा नेतृत्व परिवर्तनको एजेन्डा उठेपनि गान्धी परिवारबाट अन्त नेतृत्व नजाने निश्चितप्रायः छ । यसअघि अध्यक्ष बनिसकेका राहुल गान्धीलाई फेरि अध्यक्ष बनाउने सम्भावना बलियो छ । तर, राहुलको लोकप्रीयता कमजोर छ । भाजपा अध्यक्ष नरेन्द्र मोदीको उचाईका सामु राहुल कमजोर सावित हुँदै आएका छन् ।

कँग्रेस आईभित्र प्रियंका गान्धीलाई पनि भावी अध्यक्षको रुपमा हेर्न थालिएको छ । उनी उत्तर प्रदेश कँग्रेस आईकी महासचिव छिन् । प्रियंकालाई भारतमा इन्दिरा गान्धी जस्तै सशक्त नेता बन्न सक्ने विश्लेषणहरु भइरहेको छ । यसरी राहुल या प्रियंकामध्ये एक अध्यक्ष बन्नेतर्फ उन्मुख भएका छन् । तर, राहुलको सम्भावना बलियो छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot