Logo

नेपालको राजनीतिमा ‘धर्मको एजेन्डा’ ले प्रभाव बढाउँदै



काठमाडौं, १९ भाद्र । अब कसैले चाहे पनि नचाहेपनि र कसैले माने पनि नमाने पनि धर्मको एजेन्डाले नेपाली राजनीति तताउने निश्चित भएको छ । कुनैबेला देशभित्र विस्तारै फैलिएको धर्मको मुद्दाले अन्तर्राष्ट्रिय चासो पनि पाएको छ । भारतीय मिडियामा बेला बेलामा नेपालको संविधानमा धर्मनिरपेक्षता समावेश गरिएको विषय बहसको विषय बन्थ्यो । कतिपय भारतीय सामरिक मामलाका विज्ञहरुले हिन्दु राष्ट्र हटाएर नयाँ संविधानमा ‘धर्मनिरपेक्ष राष्ट्र’ उल्लेख गरिनुबाट भारतको नेपालमा प्रभाव कमजोर भएको विश्लेषण गर्दै आएका छन् । तर, यसपटक पश्चिमा मिडियामा समेत यसले चर्चा पाएको छ ।

बीबीसी हिन्दी सेवाले नेपालमा धर्मको राजनीतिमा प्रभावलाई चासोका साथ उठाएको छ । उसले यस विषयमा केन्द्रित रही परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग अन्तवार्ता लिएको छ । अन्तवार्तामा मन्त्री ज्ञवालीले नेपाल र भारतको सम्बन्धको बीचमा धर्मलाई ल्याउन नहुने तर्क गरेका छन् । ‘मेरो विचारमा धर्म कुनै पनि देशको आन्तरिक मामलामा ल्याउन हुँदैन,’ बीबीसी हिन्दीसँगको अन्तवार्तामा ज्ञवालीले भने, ‘यसलाई दुई देशको सम्बन्धको बीचमा पनि ल्याउन हुँदैन ।’ उनले धर्म र संस्कृति अलग विषय भएकाले एक अर्कालाई घुलमिल गर्न पनि नहुने तर्क गरे ।

नेपालमा धर्म निरपेक्षता हटाउनुपर्ने र हिन्दु राष्ट्रको एजेन्डा कतिपय नेताहरुबाट उठिरहेको र भारतको पनि चाहना रहेको विषयहरु उठिरहँदा ज्ञवालीको भनाई सार्वजनिक भएको हो । उनले धर्म र संस्कृतिक फरक विषय भएको तर्क समेत गरे । नेपाल र भारतमा झण्डै समान प्रतिशत हिन्दु धर्म मान्नेहरु छन् । यो विषयले राजनीतिमा धर्मको प्रभाव पर्ने गरेको छ । भारतमा सत्तारुढ भारतीय जनता पार्टी हिन्दुवादी परिचय बनाउन सफल छ । मोदीले धर्मको मुद्दाबाट पनि चुनाव जित्ने सफलता हासिल गरेका थिए । विशेषगरी आफ्नो कार्यकालमा अयोध्यामा राम मन्दिर निर्माण गर्ने उनको उद्देश्य थियो । जुन साकार बनाउन राम मन्दिरको जग हासिलसकेका छन् ।

भारतमा हिन्दुवादी दलको शासन हुनु र उसको चाहना नेपालमा धर्म निरपेक्ष हुनु हुँदैन भन्ने भएकाले पनि नेपालको आन्तरिक राजनीतिमा धर्मले प्रभाव बढाउँदै गएको देखिन्छ । यसलाई पश्चिमाहरुले नजिकबाट नियालिरहेको घटनाक्रमले देखाएको छ । यसै पनि भाजपाका नेताहरुले विगतमा धर्म निरपेक्ष नराख्न दबाब दिएको खुलाइसकेका छन् । जसमा तत्कालिन भाजपा उपाध्यक्ष राजनाथ सिंह र अर्का नेता भगतसिंह कोशियारी पनि थिए । कोशियारीले त प्रचण्ड भेट्न आउँदा हिन्दु राष्ट्र नराख्ने हो भने धर्म निरपेक्षता चाहिं नराख्नुहोस् भनेको खुलासा समेत गरेका छन् । बीबीसी हिन्दीले पनि ज्ञवालीसँगको कुराकानीमा भारत नेपाल धर्म नीरपेक्ष देश चाहन्नथियो ? भनी प्रश्न गरेको थियो । जसमा २६ मे २००६ मा तत्कालिन भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले नेपाल हिन्दु राष्ट्र भएकोले यसलाई मेटाउन दिन नहुने भनी माओवादीको दबाबमा हटाउन खोजिएको विषय समेत उठाइएको छ । नेपालको संविधानमा हिन्दु राष्ट्र बनाइएको असोज २०७२ को बखत भारतमा हिन्दुवादी नरेन्द्र मोदी नै प्रधानमन्त्री थिए । तर, मोदीकै कार्यकालमा नेपालमा हिन्दु राष्ट्र संविधानबाट हटाउनु सामान्य घटना थिएन । यसले मोदीको छिमेकमा प्रभाव र सामथ्र्यमाथि नै प्रश्न उठेको थियो ।

हाल महाराष्ट्र राज्यका गभर्नर रहेका भाजपाका एकजना प्रभावशाली नेताले प्रचण्डसँग डेढघन्टा कुराकानी गरेको र धर्मनिरपेक्षता भन्ने शब्द नहटाउन गरेको आग्रहबारे समेत उल्लेख गरेका छन् । उनले यसलाई खुलस्त पार्दै सनसनीपूर्ण खुलासा विगतमा गरिसकेका छन् । कोशियारीको भनाई नयाँ पत्रिकामा यसरी उल्लेख गरिएको छ, ‘प्रचण्डजी मेरो घरमा आउनुभयो, डेढ घन्टाजति कुराकानी भयो… मैंले भनें, प्रचण्डजी तपाईंहरु हिन्दुराष्ट्र बनाउने मुडमा हुनुहुन्न, मैंले बुझेको छु । तर, धर्मनिरपेक्षता भन्ने शब्द हटाइदिनुस् । यो उहाँहरुले नै सोच्ने कुरा थियो । यसले राम्रो सन्देश दिदैन भनेको थिएँ ।’ तर, नेपालका नेताहरुले यी सुझावलाई बेवास्ता गरेका थिए । कतिपयले यसलाई दबाबका रुपमा लिएका थिए । भारतको सत्तारुढ दलको केही लागेन र नेपाल धर्म निरपेक्ष देश घोषित भयो ।

नेपालमाथि भारतले विगतमा धर्मको विषयमा दिएको विवादबारे सोधिएको प्रश्नमा प्रदीप ज्ञवालीले धर्मनिरपेक्ष देश बन्ने नबन्ने नेपालले तय गर्ने विषय भएको र यो कसैको दबाबबाट सम्भव हुने विषय नभएको बताएका छन् । उनले बीबीसी हिन्दी सेवासँग भने, मलाई लाग्दैन कि कुनै दबाब थियो, यदि कुनै दबाब थियो भने पनि यो उनीहरुको निजी विचार हुनसक्छ । २०१५ मा संविधान निर्माणको बखत ठुलो संकटको अवस्था पनि रहेको भन्दै भारतको तर्फबाट नाकाबन्दी भएर समस्या बढेको बताए । धर्मको मुद्दाकै कारण भारत नेपालसँग असन्तुष्टि भएको सन्देश प्रवाह गर्ने गरी ज्ञवालीको अन्तवार्ता आएको छ । यो आफैमा अर्थपूर्ण छ ।

नेपालमा पछिल्लो समय नेपाली काँग्रेसभित्र हिन्दु राष्ट्रको मुद्दा उठिरहेको छ । यसलाई महामन्त्री डा. सशांक कोइरालाले जोड दिइरहेका छन् । उनले हिन्दु राष्ट्र र राजसंस्था दुवैका बारे पुर्नविचार गर्नुपर्ने विषय उठाउँदै आएका छन् । डा. सशांक कोइराला काँग्रेस सभापतिका दाबेदार पनि हुन् । उनले यो मुद्दा उठाउनु अर्थपूर्ण मानिएको छ । उनले यो मुद्दा उठाइरहँदा विगतमा भारतमा महत्वपूर्ण भेटघाटहरु गरेका थिए । विशेषगरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राष्ट्रिय स्वयंसेवक संघसँग सम्वद्ध व्यक्तिहरुसँग उनको गत वर्ष बाक्लो भेटघाट भएको थियो । त्यसपछि कोइराला झन् उत्साही भएका छन् ।

यसैगरी, नेपाल मामलाकी जानकार भारतकी प्राध्यापक संगिता थपलियालले नेपाल र भारतका नेताहरुले दुई देशको सम्बन्धमा अतितका पुराना भावनात्मक सम्बन्धको साधन बोक्न छाडेको तर्क गरेकी छिन् । उनले दुवै देशका नेताहरुबीच निकट र सहज सम्बन्ध नहुँदा समस्या आएको र अन्य पक्षले रिक्ततामा ठाउँ लिएको विषय पनि उठाएकी छिन् । दुई देशको सम्बन्धमा सांस्कृतिक र धार्मिक विषयले ठुले अर्थ राख्ने उनको तर्क छ । थपलियालले सम्बन्धमा देखापरेको रिक्तताले समस्याहरु ल्याएको समेत उल्लेख गरेकी छिन् ।

विवेकानन्द फाउन्डेसनमा नेपाल भारत सम्बन्धबारे लेख लेख्दै थपलियालले नेपाल र भारत दुवै देशको राजनीतिक नेतृत्व सन् १९४७ पछि जन्मिएको र तिनले विगतको भावनात्मक सम्बन्धको साधन नबोकेको तर्क गरेकी हुन् । नेपालका नेताहरुले भारतविरोधी आडम्बरमा हुर्केकाहरुको समर्थन लिन सजिलै सक्ने अवस्थाबारे समेत उनले चर्चा गरेकी छिन् । उनले लेखमा उल्लेख गरेकी छिन्, ‘नेपालमा भएको संरचनात्मक परिवर्तनले भारतसँगको सम्बन्धमा समेत असर पारेको छ ।’ विगतमा नेपालका नेताहरुको भारतीय नेताहरुसँग सिधा सम्पर्क हुनेगरेको थपलियालको लेखमा वर्णन गरिएको छ । उनले नेपाल र भारतको शासनसत्तामा बसेका नेताहरुको निकट सम्बन्धबारे लेखेकी छिन्, एउटा यस्तो समय थियो नेताहरु विना कुनै औपचारिकता एक अर्काको टेलिफोन उठाउँथे । तर, त्यो सम्बन्ध समयसँगै हराउँदै गएको तथ्यबारे उल्लेख गरेकी छिन् ।

थपलियालले भारतले नेपालका नेताहरुसँग नयाँ रणनीतिका साथ पहुँच बनाउनुपर्ने र नयाँ राजनीतिक सम्बन्ध पुनः सृजना गर्नुपर्ने सुझाव दिएकी छिन् । उनले रोटी-बेटी सम्बन्धको विशेष महत्व दर्शाउँदै सामाजिक सांस्कृतिक सम्बन्धको वास्तविक ध्वजवाहक नै जनताहरु भएको तर्क गरेकी छिन् । उनको यो भनाई निकै अर्थपूर्ण छ । नेपाल र भारतबीच केही पुराना सम्बन्धका आधारहरु भत्कँदा समस्याहरु आएको विश्लेषण दुवै देशभित्र भइरहेको छ । जसमा धर्मलाई मानिएको छ । यसरी धर्मको विषय जोडतोडले उठिरहँदा नेपालको राजनीतिमा यसले ठुलै असर पार्ने संकेतहरु देखिएको छ ।- विमर्शबाट

 



प्रतिक्रिया दिनुहोस्

Screenshot