Logo

वाग्मती किनारमा गुर्जो रोप्ने अभियान, राजलवटले सुनाए गुर्जोको फाईदा



काठमाडौं, २७ भदौ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा आज १५० गुर्जोको बिरुवा रोपिएको छ । गुर्जो रोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत वाग्मती सफाइ अभियानकर्मी पनि सहभागी भएका थिए ।

आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गरेका हुन् । अधिकारसम्पन्न वाग्मतीको कार्यालयमा पनि उनले बिरुवा उपलब्ध गराएको सञ्चालक सदस्य माला खरेलले जानकारी दिएकी छिन्।

राजलवटले नै उपलब्ध गराएको एक हजार गुर्जोको बिरुवा वाग्मतीको गोठाटारमा पुलमा आज बिहान वितरण गरिएको छ । वाग्मती सुन्दरता सरोकार मञ्च र मानव अधिकार तथा शान्ति समाजले नदी किनारका बस्तीमा रोप्न एक हजार बिरुवा वितरण गरेको अध्यक्ष उत्तम पुडासैनीले बताए ।

सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियानमा मञ्च लागेको पनि उनले जानकारी दिए । घरघरमा गुर्जोको बिरुवा पु¥याउने अभियानमा लागेका राजलवट आफूले ११ वर्षदेखि नियमित रुपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउँछन । गुर्जोका नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उनले जानकारी दिए ।

मधुमेह रोगबाट पीडित भएकाले नियमित रुपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानु नपर्ने आफैँले अनुभव गरेपछि सामूहिक रुपमा बिरुवा वितरण अभियानमा लागेको पुडासैनी बताउँछन् । गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउँछ । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ ।

रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवटको दाबी छ । गर्भवतीले भने गुर्जोका प्रयोग गर्नु हुँदैन भने पाँच वर्षमुनिका बालबालिकालाई पनि सेवन नगराउनु राम्रो हुन्छ । डाँठ र पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रुपमा उपयोग गर्न सकिन्छ ।

आयुर्वेद शास्त्रले भनेको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधिको काम गर्छ भनेझैँ गुर्जोले नेपालीको स्वास्थ्य रक्षामा काम गर्ने अनुभव प्रयोगकर्ता गरेका छन् । हालसम्म राजलवटले देशभर ६० हजार गुर्जोका बिरुवा वितरण गरेका छन् । राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उनले जानकारी दिए । नगरपालिकामार्फत राजधानीवासीका घरघरमा गुर्जो रोपण अभियान विस्तार गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्