Logo

विभिन्न हातहतियार सहित दुई जना पक्राउ



स्याङजा, २९ भाद्र । विभिन्न हातहतियार सहित दुई जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका ठुलाडिही मोहरिया छापडाँडाका भिम बहादुर ठकुरीलाई विभिन्न हातहतियार सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान एकनाले बाह्रबोर बन्दुक, सो को २ थान टोटा, २ थान फलामको खाली टोटा, १ थान बारुद छर्रा भरेको टोटा, ८ सय ८० ग्राम बारुद, ३३ थान फलामको छर्रा (वेरिङ) ठूलो, ६५ थान फलामको छर्रा (वेरिङ) सानो, ६८ थान केप, १ थान ग्रिस डिव्वा र १ थान फलामको पाता प्रहरीले बरामद गरेको जनाएको छ । ठकुरीको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको बताएको छ ।

यसैगरी स्याङजा, पुतलीबजार नगरपालिका मोहरियाका ओम बहादुर हमाललाई १ थान लोड गरी राखेको एकनाले भरुवा बन्दुक, १ थान खाली एकनाले भरुवा बन्दुक, ८ सय ८० ग्राम बारुद, ४८ थान पाते पट्का जस्तो देखिने बस्तु, ८० थान केप र १२ थान छर्रासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हमालको घरमा हातहतियार लुकाई राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको बताएको छ ।

दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङजाबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot