Logo

महिलालाई फरक पर्दैन, घरधन्दाले थिच्छ, भ्रमण प्याकेज दिए राम्रो



काठमाडौँ, १३ असोज । अधिकांश महिलाले घरको चुलोचौकोका कामदेखि घरायसी सबै काम सिध्याएर बाहिरको काममा जानुपर्ने बाध्यता छ । हाम्रो जस्तो मुलुकमा घरको काम महिलाले नै गर्नुपर्छ भन्ने मान्यताले झन् पुरुषको तुलनामा महिलाको काम धेरै हुनेगर्छ । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नको लागि भनेर हप्तामा दुईदिने बिदा दिने विषयमा छलफल अगाडि बढाएको छ । यो व्यवस्था भए आन्तरिक पर्यटन प्रवर्द्धन हुने र बाहिर काम गर्ने महिलाको लागि राहत मिल्ने बताइन्छ । तर यो यो व्यवस्था कार्यान्वयन भए पनि कामकाजी महिलाका लागि खासै प्रभाव नपर्ने सरोकारावाला महिलाको तर्क छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनका उपाध्यक्ष भवानी दाहालले सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्ताको दुई दिने बिदाले खासै फाइदा नहुने दाबी गर्नुहुन्छ ।
व्यक्तिगत रुपमा फाइदा जस्तो देखिए पनि समग्रतामा उक्त बिदाले महिलाको लागि कुनै फाईदा नगर्ने उपाध्यक्ष दाहालको भनाइ छ । हाम्रो जस्तो मुलुकमा हप्तामा एक दिन बिदा बढाउँदैमा महिला पनि घुम्न जान पाउने भन्ने अर्थ लगाउनु गलत हुने उहाँको तर्क छ । महिलाको लागि केवल सानातिना घरायसी कामबाहेक अरु उपलब्धिमूलक काम हुन नसक्ने उपाध्यक्ष दाहालको आशङ्का रहेको छ ।

घरमा सरसफाइ गर्ने, छोराछोरीको हेरचाह गर्ने, कपडा धोइदिने काम शनिबारको बिदाको दिनमा प्रायः महिलाको हुने गरेको उहाँको भनाइ छ । तर सामाजिक काममा लागेको महिलाको हकमा वर्षमा एक दिन पनि फुर्सद नहुने उहाँको अनुभव छ ।

घुम्ने समय मिल्छ, आर्थिक गतिविधि बढ्छ

केही महिलालाई राहत मिल्नुबाहेक आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ला भन्ने विषयमा विश्वास गरिहाल्न नसकिने उहाँले बताउनुभयो । आन्तरिक पर्यटन प्रवर्द्धन प्रभावकारी बनाउने हो भने यसअघि सरकारले ल्याएको १५ दिने भ्रमण बिदालाई निरन्तरता दिए प्रभावकारी हुने उहाँ बताउनुहुन्छ ।

देश सङ्घीयतामा गए पनि अझै केन्द्रमा धाउनुपर्ने बाध्यता रहेकाले सरकारी बिदा थप्दा सेवाग्राहीलाई खर्च धान्न गाह्रो हुने उहाँले बताउनुभयो । राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारी हप्तामा दुई दिन बिदा दिँदैमा महिला घुम्न पाउँछन् भन्ने निश्चित नभएको बताउनुहन्छ । एक दिन बढाउँदैमा महिला कर्मचारीले घुम्न समय पाउँछन् भन्नेमा उहाँ सहमत हुनुहुन्न ।
महिलाले घुम्न पाउने भन्ने कुरा परिवारको बुझाइ र व्यवहारमा भर पर्ने कुरा गर्छ । अहिलेको अवस्थामा पनि महिला घरको सम्पूर्ण काम सिध्याएर जागिरमा जार्नुपर्ने अवस्था छ । लगभग धेरै महिलाको दिनचर्या घरायसी कामसँगै जागिरे चलन रहेको छ ।

परिवार भएको घरमा झन् घरायसी कामहरू बढ्ने, तिनै काम गरेर बस्नुपर्ने अवस्था आउने आयोगका सचिव अधिकारी बताउनुहुन्छ । तत्कालै यसले महिला घुम्नै जान्छन्, आन्तरिक पर्यटन प्रवर्द्धन हुन्छ भन्ने कुरामा आफू सहमत नभएको अधिकारी बताउनुहुन्छ । महिलालाई घुम्ने जाने वातावरण बनाउने हो भने वर्षमा प्याकेज बनाएर सरकारले आर्थिक सहयोगसहितको व्यवस्था गर्न जरुरी रहेको अधिकारीको भनाइ छ ।

यता, नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट का मीना गुरुङका अनुसार सातामा दुई दिने बिदा दिने व्यवस्था कार्यान्वयनमा आए राम्रो हुन्छ । पारिवारिक भेटघाट गर्न समय मिल्ने, घुम्नको लागि यथेष्ट समय पुग्ने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ । महिलाको सन्दर्भमा पनि उक्त बिदाको व्यवस्थाले व्यक्तिगत क्रियाकलापका काम गर्न समय मिल्नेमा उहाँको भनाइ रहेको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्