Logo

सर्लाहीमा कोरोना सङ्क्रमित मृतकको पहिलोपटक जलाएर गरियो दाहसंस्कार



सर्लाही, १४ असोज । सर्लाहीमा कोरोना भाईरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–६, का ७६ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति नारायणी अस्पताल वीरगञ्जको कोभिड अस्थायी अस्पताल ९बाबा आइसोलेसन०मा मृत्यु भएको हो । घरमै बिरामी परेर आइतबार वीरगञ्ज जानुभएका वृद्धको त्यसैदिन जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको परिवारका सदस्यलाई उद्वृत गर्दै बरहथवा नगरपालिका ६ का वडाध्यक्ष मोहम्मद अफताब आलमले जानकारी दिनुभयो ।

वृद्ध मधुमेह, उच्च रक्तचाप, मुटु र मृगौलाको बिरामी समेत हुनुहुन्थ्यो । मृतकको शव मङ्गलवार दिउँसो जिल्लामा ल्याएर पूर्व–पश्चिम राजमार्गस्थित बाग्मती पुल दक्षिणपट्टीकिो घाटमा जलाएर अन्त्येष्टि गरिएको छ । सरकारले बनाएको प्रोटोकल अनुसार सर्लाहीमा पहिलो पटक यसरी कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको मृतककै धर्मअनुसार जलाएर दाहसंस्कार गरिएको हो ।
मृतकका परिवारका सदस्य र मलामी आएका व्यक्तिहरुलाई परै राखी नेपाली सेनाको रणशेर गण पाँचकुमारी ब्यारेकबाट खटिएको शव व्यवस्थापन टोलीले सलामी अर्पण गरी शव जलाएको हो ।

शव व्यवस्थापनमा सहभागी टोली सदरमुकाम मलङ्गवास्थित कुसुम पार्टी प्यालेसमा बेग्लै आइसोलेटेड भएर बस्ने रणशेर गणका प्रमुख सेनानी ९कर्णेल० सुरज राउतले जानकारी दिनुभयो ।
सर्लाहीमा अहिलेसम्म सदरमुकाम मलङ्गवामा दुई, लालबन्दी, हरिपुर, हरिपूर्वा, चक्रघट्टा र बरहथवामा एक÷एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । त्यसमध्ये वीरगञ्जमै मृत्यु भएका चक्रघट्टाका एक पुरुषको लखन्देही खोला र हरिपूर्वाकी एक महिलाको बाँके खोलामा सेनाद्वारा नै गाडेर शवको व्यवस्थापन गरिएको थियो । अन्यत्र मृत्यु भएका मलङ्गवा, लालबन्दी र हरिपुरका सङ्क्रमितको भने मृत्यु भएकै जिल्लामा शव व्यवस्थापन गरिएको छ ।

कोरोना सङ्क्रमणबाट अति प्रभावित भएको जिल्लाको सूचीमा पर्ने सर्लाहीमा अहिलेसम्म दुई हजार ५८ जनामा सङ्क्रमण पुष्टी भएको छ । त्यसमध्ये सात जना सङ्क्रमितको मृत्यु भएको छ भने एक हजार आठ सय २१ जना डिस्चार्ज भइसकेका छन् । बाँकी सङ्क्रमितहरु होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय मलङ्गवाका कोभिड–१९, फोकल पर्सन सुशिलकुमार झाले बताउनुभयो । पछिल्लो समय निषेधाज्ञा खुलेपछि भीडभाड बढ्दै जाँदा कोरोना परीक्षण भने हुन छाडेको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्