Logo

किसानलाई अलैँची टिप्ने चटारो, भाउ ओरालो



बागलुङ, १५ असोज। किसानलाई यतिबेला अलैँची टिप्ने चटारो छ । हजार-बाह्र सय मीटरको उचाइमा त साउन अन्तिमतिरै अलैँची पाक्न शुरु गर्छ । उपल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । अलैँचीको फल वर्षमा एकचोटि लाग्छ । बरेङ गाउँपालिका–२ को नमूना अलैँची उत्पादक कृषक समूहका सदस्य अहिले अलैँची टिप्न र सुकाउनमा व्यस्त छन् । दश क्विन्टल जति अलैँची टिपिसकिएको समूहका अध्यक्ष विमल पौडेलले बताउनुभयो । “अलैँची टिप्न अझै बाँकी छ, सुकाउँदा यो वर्ष २५ क्विन्टलसम्म ठहर्छ कि रु”, उहाँले भन्नुभयो ।

यहाँका किसानले झण्डै ४०० रोपनीमा अलैँची खेती गर्दै आएका छन् । बरेङमा अलैँचीको पकेट कार्यक्रम सञ्चालित छ । ताराखोला गाउँपालिकाको अलैँची ‘ब्लक’ले वडा नं। १, २, ३ र ४ वडा समेटेको छ । गाउँपालिकाको आँकडानुसार ६५० रोपनीमा अलैँची खेती छ । अलैँची ब्लक सञ्चालक समितिका सचिव इन्द्रबहादुर रोकाले अर्को सातादेखि अलैँची टिप्न शुरु हुने बताउनुभयो । “चिसो र उचाइमा भएका कारण यहाँको अलैँची अलिक ढिलो पाक्छ”, उहाँले भन्नुभयो, “असोज अन्तिमसम्ममा सबै टिपीसक्छौँ ।”

जातअनुसार पनि अलैँची ढिलो(छिटो पाक्ने हुन्छ । ताराखोलामा रामसाइ र गोलसाइ जातको अलैँची खेती छ । यो वर्ष अलैँचीको राम्रो फल लागेको रोकाको भनाइ छ । उहाँले मात्र २२ रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएको छ । यो वर्ष उत्पादन अझै बढ्ने देखिएको छ । गाउँपालिकाभर गर्दा ३० देखि ३५ क्विन्टलसम्म फल्ने अनुमान छ ।

वर्षेनी अलैँची भित्र्याउँदा खुशी हुने किसान बजार भाउदेखि भने निराश छन् । पहिलेकै झैँ मूल्य पाउने हो भने अलैँची खेतीतर्फ किसानको आकर्षण झनै बढ्ने थियो । उत्पादनअनुसारको मूल्य नपाउनु दुःखद् भएको अध्यक्ष पौडेलको भनाइ छ । “गत वर्ष रु ६०० देखि रु ६५० सम्ममा विक्री भएको थियो, अहिले त्यही पनि पाइने हो या होइन, यस्तो अवस्था छ”, उहाँले भन्नुभयो । विदेशमा नेपाली अलैँचीको माग र बजार भए पनि किसानले उचित मूल्य नपाएको अलैँची किसान रोकाले बताउनुभएको खबर आजको गोरखापत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot