Logo

चाडबाडमा कालोबजारी गर्नेमाथि कारबाही शुरू



काठमाडौं, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन गर्न थालेको महानगरको उपभोक्ता हित संरक्षण समितिले तीन सातामा १ सय २३ फर्मको अनुगमन गरेको जनाएको छ ।

चाडवाडको समयमा एकलौटी मूल्यवृद्धि गर्ने, दैनिक उपभोग्य सामग्री अभाव गराउने, अखाद्य वस्तु प्रयोग गरी मिठाईजन्य वस्तु निर्माण गर्ने, बासी र सडेगलेका मासु बेचबिखन गर्ने, खान अयोग्य पानी बिक्रीवितरण गर्नेजस्ता अपराधजन्य क्रियालाप बढ्न थालेपछि समितिले सक्रियता बढाएको हो ।

कामपाले अनुगमन क्रममा पसलमा मूल्यसूची, व्यवसाय दर्ता र नवीकरण, नापतौलको प्रमाणपत्र, लेबलमा खुलाउनुपर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रक्रिया, खाद्य अनुज्ञापत्र भएनभएको विषय खोजी गरेको थियो ।

यस अवधिमा कामपाले २७ फर्म तथा कम्पनीलाई २ लाख ५५ हजारसम्मको जरिवाना सिफारिस गरेको छ । कामपा कृषि विभाग प्रमुख एवं समितिका टोली प्रमुख हरि भण्डारीले राजधानीबासीलाई मनपरी सामग्री बिक्रीवितरण गर्ने कम्पनी र फर्ममाथि कारबाही गर्न सिफारिस गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अनुगमनका क्रममा मनोमानी गर्ने कम्पनी र व्यक्तिलाई कारबाही गर्न वाणिज्य विभागलाई सिफारिस गरेको हौं ।’ कसुरका आधारमा अनुगमन टोलीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कारबाहीको सिफारिस गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर जरिवाना सिफारिस गरेको छ । हालसम्म जरिवानाबापत १२ लाख ८७ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

म्याद गुज्रिएका सामान बिक्री गरिरहेका ११ पसलबाट करिब १० लाख रुपियाँ मूल्य बराबरका सामान नष्ट गरिएको छ । म्याद गुज्रिएकामध्ये दाल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाई, बिस्कुट, मसला, फलफूल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन् । खुद्रा व्यापार गर्ने ७६ वटा पसललार्ई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ । यीमध्ये २२ व्यापारी अनुगमन टोलीको सम्पर्कमा आएका थिए ।

संविधानको अनुसूची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले तरकारी, फलफूल र माछामासुको अनुगमन गरिरहेको छ । टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरको पशु सेवा विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका पदाधिकारी सहभागी भएका खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot