Logo

कारागारका कैदीमा कोरोना देखिएपछि उच्च सतर्कता



चितवन, १९ कात्तिक: चितवनको भरतपुरस्थित कारागारमा एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

कारागार कार्यालय पोखराबाट असोज २७ गते यहाँ स्थानान्तरण गरिएका एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताउँदै आएका गोरखा खोप्लाङ्का ७२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कात्तिक १४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

प्रमुख काफ्लेले भने “पोखराबाट ल्याउँदा उनको पिसिआर रिर्पोट नेगेटिभ थियो । उपचारका क्रममा क्यान्सर अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।” कैदीमा कोरोना सङ्क्रमण देखिएसंगै कारागारमा उच्च सतर्कता अपनाइएको छ । सामान्य रुघा खोकी आएकालाई छुट्टै क्वारेन्टिन निर्माण गरी राखिएको छ । अहिले ४६ जना क्वारेन्टिनमा रहेको उहाँले जानकारी दिए ।

कारागारमा ७ सय ९५ जना कैदीबन्दी छन् । क्षमताभन्दा वढी कैदीबन्दी भएकाले कोरोना फैलन सक्ने त्रास बढेको उनको भनाइ छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै अस्पतालमा उपचारका लागि पठाइएका कैदीबन्दीलाई समेत क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गर्दै आएको उहाँले जानकारी दिए । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर कैदीबन्दीका आफन्तलाई भेटघाट गर्न बन्द गराइएको छ ।

दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दी राख्न सक्ने क्षमताका सो कारागारमा अहिले छ सय ३७ पुरुष र ५८ महिला कैदीबन्दी रहेका छन् । उनीहरुसँगै तीन जना आश्रित वालबालिका समेत छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्